काँग्रेस म्याग्दीले किन लगायो कोष नियन्त्रक बेलबासेको कार्यकक्षमा ताला !

  • २ चैत्र २०७४, शुक्रबार
  • 2973 पटक पढिएको

म्याग्दी, २ चैत । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख छविन्द्र बेलबासेको कार्यकक्षमा नेपाली काँग्रेस म्यागदीले तालाबन्दि गरेको छ । शुक्रवार कार्यालयमा आएका सेवाग्राहीलाई अल्पत्र पारेर पार्टीको कार्यक्रममा प्रशिक्षण दिन गएको आरोप लगाउँदै नेपाली काँग्रेस म्याग्दीले कोष नियन्त्रक बेलबासेको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दि गरेको हो ।

कोष नियन्त्रक बेलबासेको कार्यकक्षमा तालाबन्दि गर्दै काँग्रेस म्याग्दीका सचिब मिन बहादुर कार्कीद्धारा हस्ताक्षर गरिएको जानकारी पत्र टाँस गरिएको छ । कार्यालय समयमा जनताको काम नगरि राजनितीक दलद्धारा आयोजित तालिममा प्रशिक्षक बनेर प्रत्येक्ष संलग्न भई जनताको कामप्रति उपेक्षा गरेको विरोधमा उहाँको कार्यकक्षमा तालाबन्दि गरिएको टाँस गरिएको पत्रमा जनाईएको छ ।

शुक्रवार नेकपा एमाले म्याग्दीको आयोजनामा एमाले, माओवादी र स्वतन्त्रबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुको लागि बेनीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कोष नियन्त्रक बेलबासे स्थानीय तहको वित्तिय व्यवस्थापन सम्बन्धि प्रशिक्षक बनेका थिए । कार्यालयमा हाजिरि जनाएर कार्यालय समयमै कुनै दलले आयोजना गरेको तालिममा प्रशिक्षक बन्ने र जनतालाई सेवा प्रवाहमा उपेक्षा गरेकाले विरोध स्वरुप तालाबन्दि गरिएको काँग्रेस म्याग्दीका महाधिवेशन प्रतिनिधि भरत बहादुर रकालले बताउनुभयो ।

यता कोष नियन्त्रक बेलबासेले भने आफु कुनै पार्टीको कार्यक्रमको लागि नभएर स्थानीय तहका जनप्रतिनिधिहरुलाई विक्तिय व्यवस्थापनबारे सहजीकरणको लागि सो कार्यक्रममा सहभागी भएको प्रतिकृया दिनुभएको छ । यता एमाले अध्यक्ष हरिकृष्ण श्रेष्ठले समेत कोष नियन्त्रक बेलबासेलाई जनप्रतिनधिहरुलाई प्रशिक्षण गर्नकाे लागि विषय विज्ञेताको रुपमा कार्यक्रममा निमन्त्रण दिईएको र उहाँले सोही बमोजिम प्रशिक्षण दिनुभएको बताउनुभएको छ ।