म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाब, ‘वडा सचिब नहुँदा फितलो बन्यो सेवा प्रवाह’

  • २७ फाल्गुन २०७४, आईतवार
  • कमल खत्री
  • 2325 पटक पढिएको

म्याग्दी, २७ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा विगत ७ महिनादेखि वडा सचिब विहिन बनेको छ । वडा सचिब नहुँदा पञ्जीकरणको कार्य सम्पादन देखि वडा कार्यालयको महत्वपूर्ण कामकाज प्रभावित हुने गरेको छ । गुर्जामा कार्यरत तत्कालिन वडा सचिब थमप्रकाश घर्ति धौलागिरि गाउँपालिकाकै वडा नम्बर ४ मुदीमा सरुवा भएपछि गुर्जामा कुनैपनि अन्य वडा सचिबलाई नखटाईएको कारण समस्या भएको वडा अध्यक्ष झक बहादुर छन्त्यालले बताउनुभयो । वडा सचिब नहूँदा वडा कार्यालयबाट हुने सिफारिस लगायतका कागजपत्र तयार गर्ने कार्य समेत वडा अध्यक्षले नै गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।


‘‘ दुर्गम बस्तीमा सेवा प्रवाहलाई प्रभाबकारी बनाउनुपर्छ भन्दै हामीले पटक पटक वडा सचिब व्यवस्थापनको लागि गाउँपालिका हुँदै माग समेत गरको छौँ, तर अहिलेसम्म सुनुवाई भएको छैन्, गाउँपालिकाले पञ्जीकरणको काम अन्य वडा सचिबहरुलाई जिम्मेवारी दिएर गराउने गरेपनि त्यो प्रभावकारी छैन,’’– वडा अध्यक्ष छन्त्यालले भन्नुभयो । जिल्लामा रहेका ५ वटै गाउँपालिकाहरुमा वडा सचिबहरुको जनशक्ति अभाब छ । एक जना सचिबले एक बढी वडाहरु हेर्नुपर्ने बाध्यता भएपछि वडाबाट प्रवाह हुने सेवा नै फितलो हुने गरेको छ ।

धौलागिरि गाउँपालिका–३ मुनामा कार्यरत वडा सचिब गिरिराज शर्मालाई समेत वडा नम्बर २ लुलाङको समेत जिम्मेवारी दिएपछि यि दुबै वडामा वडा सचिबले नियमित रुपमा कार्य सम्पादन गर्न कठिनाई हुने गरेको छ । एउटा वडा सचिबले २ बढी वडाहरु हेर्नुपर्ने बाध्यतलो जनतालाई प्रभाबकारी रुपमा सेवा प्रवाह गराउन कठिनाई हुने गरेको मुनाका वडा अध्यक्ष पुर्म पुनले गुनासो गर्नुभयो । ‘‘ संघियताले जनतालाई छिटो छरितो सेवा हुन्छ भन्ने थियो, वडा सचिबको समेत जिम्मेवारी वडा अध्यक्षले नै पुरा गर्दा सेवा प्रवाहमा ढिलाई हुने र वडा अध्यक्ष माथि भार बढी भएको छ,’’–वडा अध्यक्ष पुनले भन्नुभयो।

धौलागिरि गाउँपालिका कार्यालयकै लागि कम्प्युटर अपरेटर र लेखापाल छैनन् । करिब तीन महिनासम्म लेखापाल विहिन भएको गाउँपालिकामा तत्कालको लागि हुलाक कार्यालयबाट सह–लेखापाल दिपक खत्रीलाई खटनपटन गराईएको भएपनि कार्यालयको लागि आबश्यक जनशक्तिको अभाब रहेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । धौलागिरिमा मात्रै होईन मालिका गाउँपालिकामा समते वडा सचिबहरुको अभाब छ । मालिकाको वडा नम्बर २, ३ र ४ मा एक जना र वडा नम्बर ५ र ७ वडामा एक जना वडा सचिबले काम गर्नुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

‘‘ गाउँपालिकामा वडा सचिब र प्राविधिक जनशक्तिको अभाब छ, सबै वडामा सचिब नहुँदा दैनिक सेवा प्रवाह प्रभावित भएको मशसुस गरेका छौँ, सरकारले कर्मचारी व्यवस्थापन नगरेसम्म साविकका सामाजिक परिचालकहरुलाई नै करारमा राखेर वडाको सेवा प्रवाहलाई सहज बनाउने योजना बनाउका छौँ’’–गाउँपालिका अध्यक्ष रोकाले भन्नुभयो । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ मा समेत एउटै सचिबले सेवा प्रवाह गर्दै आएका छन् ।

गाउँपालिकामा उपलब्ध प्राविधिक जनशक्तिले विकास निर्माण योजनाहरुको लगत संकलन तथा नापजाच गर्न कठिनाई भएपछि करारमा थप प्राविधिक जनशक्ति नियुक्त गर्न लागिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको भनाई छ । रघुगंगा गाउँपालिकामा समेत वडा सचिबहरुको अभाब छ । वडा नम्बर ५ झिँ र ६ पाखापानीमा एक जना र वडा नम्बर ४ दग्नाम र वडा नम्बर ७ चिमखोलामा पनि एक जना सचिबले काम गर्नुपर्ने बाध्यता छ ।

वडा सचिब संगै कम्प्युटर अपरेटर लगायतका कर्मचारीहरुको अभाबले सेवा प्रवाह गर्न कठिनाई हुने गरेको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो । ‘‘ हामीले सकभर सहज रुपमा सेवा दिने कोसीस गरेका छौँ, प्रयाप्त कर्मचारी नभएकाले उपलब्ध कर्मचारीहरुलाई नै जिम्मेवारी बढाएर भएपनि जनतालाई सेवा दिनुपर्ने बाध्यता छ,’’–गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो । अन्नपूर्ण गाउँपालिकामा समेत वडा सचिबको अभाब छ ।

आठ वटा वडा रहेको अन्नपूर्णमा अहिले ६ जना दरबन्दिका वडा सचिब कार्यरत रहेपनि वडा नम्बर ३ दानाका सचिब बढुवा भएको, ४ नारच्याङका सचिबले स्वच्छीक अबकाश लिने गरि राजीनामा दिएकाले गाउँपालिकामा वडा सचिबहरुको अभाब हुने देखिएको प्रमुख प्रशासकिय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो । जिल्लामा रहेका ५ वटा गाउँपालिकामा अहिलेसम्म शिक्षा क्षेत्र हेर्ने गरि संयोजकहरु खटाईएको छैनन् ।

अहिले जिल्लामा कर्मचारीको अभाब रहेकाले आबश्यक कर्मचारीको सन्र्दभमा सामान्य प्रशासन मन्त्रालयमा माग गरिसकिएको र तत्काललाई स्थानीय सरकारहरुसंग समन्वय गरि एकै व्यक्तिलाई एक भन्दा बढी वडा हेर्ने गरि खटनपटन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । उहाँले प्रजिअ नेतृत्वको कर्मचारी व्यवस्थापन समितिलाई जिल्लाभित्रका कर्मचारीहरुलाई मात्रै खटनपटन गराउन मिल्ने भएको र जिल्लामा आबश्यक कर्मचारी जनशक्ति नभएकाले मन्त्रालयबाट कर्मचारी उपलब्ध हुँदासाथ अभाब भएका वडाहरुमा व्यवस्थापन गरिने समेत बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l