अपडेट : त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, १६ घाइते
- ११ कार्तिक २०७४, शनिबार
- 2395 पटक पढिएको
काठमाडौं, ११ कात्तिक । राजविराजबाट काठमाडौँ आइरहेको रात्रिबस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ।
धादिङको गजुरी गाउँपालिका ५ ओखरे खोला नजिकै ना ६ ख १४६७ नम्बरको बस त्रिशुली नदीमा खसेको हो। मृतकको सनाखत हुन सकेको छैन।
प्रहरीले दुर्घटनास्थलबाट १६ जनाको उद्दार गरेको छ। घाइतेमध्ये १४ जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको थियो। तर, बसमा कति यात्रु थिए भनेर यकिन गर्न प्रहरीले जनाएको छ। बसमा सवार घाइतेहरुको भनाइ अनुसार ५० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ।
बस त्रिशुली नदीमा डुबेको छ। बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली, ट्राफिक प्रहरी, रेडक्रस, स्थानीय बासिन्दा खटिएका छन्।
-कान्तिपुर
