जातीय व्यवस्था नै बर्ग निर्माण को प्रमुख कारण ।

  • २८ जेष्ठ २०७७, बुधबार
  • 183 पटक पढिएको

विनोद आचार्य
भारतीय समाजमा करिब ३५ सय बर्ष अगाडि सुरु भएको वर्ण ब्यबस्था त्यति बेलाको वर्गीय तहगत संरचना नै थियो । ती संरचना नेपाल भित्रको तराई भु भागमा आइपुग्दा, वागमती उपत्यका भित्र लिच्छविहरुले सुरु गरि मल्लहरुले विस्तार गर्दा र पश्चिम नेपालमा वैदिक आर्यहरु प्रवेश गरि खस राज्य विस्तार र जङ्ग बहादुरको मुलुकी ऐन सम्म आउदा वर्ण व्यबस्थामा आधारित जात प्रथाले नेपाली समाजको वर्ग निर्माणमा मुख्य र निर्णायक भूमिका खेल्न पुगेको तथ्य इतिहासको अध्ययनले छर्लङ्ग पार्दछ ।


जंगबहादुरको मुलुकी ऐनले जनजाति समुदायलाई सबै बिषयमा बाहुन र क्षेत्री भन्दा तल राखी कठोरता पूर्वक व्यवहार सुरु गरेपछि जनजातिको वर्ग समेत त्यसबाट स्वत प्रभावित हुन पुग्यो । वर्ग निर्माणमा जात व्यबस्थाले खेलेको भूमिकाका कारण नेपाली समाजमा यस्तो परिदृष्य सजिलै देख्न सकिन्छ । यदि तराईको कुनै हरि प्रताप सिंह नामको ब्यक्ति राजपुत हो भनी थाहा पाउने बित्तिकै भन्न सकिन्छ ऊ मोही किसान होइन ।

त्यसैगरी पर्बत जिल्लाको श्याम बहादुर दर्जी दमाई हो भन्ने थाहा पाउने बित्तिकै भन्न सकिन्छ ऊ सामन्त चाहि होइन । अनि डोटिको खेमराज भट्ट बाहुन हो भनी थाहा पाउने बित्तिकै भन्न सकिन्छ कि ऊ हलिया प्रथा अन्तर्गतको हली चाहि होइन आदि इत्यादि । यसको अर्थ के हो भने नेपालमा जात व्यबस्थामा आधारित सामन्तवाद थियो र वर्ग निर्माणको मुख्य एवम् निर्णायक तत्व पनि जात व्यबस्था नै हो ।

२०२१ मा भुमिसुधार लागू नभएको भए, यहाँ ज्यापूहरूका बाहेक कसैको पनि नयाँ घर बन्दैनथ्यो, अपवादबाहेक, उपत्यकामा । त्यो भूमिसुधारले चौखण्डी जमिन पाउने भएकाले श्रेष्ठहरूको जमिन काट्दै, लिँदै, आधा जमिन बेच्दै, आधा जमिनमा घर बनाउँदै, ज्यापूहरूको पक्की घर हुन सम्भव भएको हो । नत्र त्यो सम्भव थिएन, जमिन राख्ने अधिकार प्रधान, श्रेष्ठहरूसँग मात्रै थियो । किनकि प्रधान, श्रेष्ठहरू क्षेत्री जात, माथिल्लो जातअन्तर्गत मानिन्थे । इतिहास हेर्दा जातीय उत्पीडन दुई सय चालिस बर्षभन्दा बढी समय भएको देखिन्छ ।

यति लामो कालखण्ड सम्मको उत्पीडनले बर्ग निर्माणमा कुनै भूमिका खेलेन त ? कुनै पनि उत्पीडन बर्गीय उत्पीडनकै फरक–फरक रुप हुन् भन्ने मार्क्सवादी अवधारणालाई आत्मसात् गर्ने हो भने कुनै पनि उत्पीडनले वर्ग निर्माणमै भूमिका खेल्दछन भन्ने कुरा स्वत स्पष्ट हुन्छ । यदि तामाङलाई मासिन्या मतवाली तोकेर उत्पीडन नगरिएको भए तामाङ जातिको जीवन स्तर आज दलितको भन्दा तल पुग्दथ्यो त ? कदापि पुग्दैनथ्यो । यस्तै गरि भाषिक उत्पीडनले पनि बर्ग निर्माणमा सहयोग पुर्याउने हो । भाषाकै कारण शिक्षामा, ब्यापारमा, राजकीय सेवामा प्रबेश नपाएपछि वा पछि पारेपछि के हुन्छ ? पक्कै पनि भाषिक उत्पीडनमा नपरेको ब्यक्तिभन्दा पछि पर्छ । यो पनि अन्तत बर्ग निर्माणकै प्रक्रिय हो । यसर्थ जातीय उत्पीडन नेपालको बर्ग निर्माणमा एउटा प्रमुख सहायक तत्व हो ।
समाजबादको लागि अभियान