बिदेशमा आर्जेको ज्ञान, सिप र पुँजी भित्र्याउन प्रवासीलाई जनप्रतिनिधिको आग्रह

  • २३ आश्विन २०७४, सोमबार
  • 4315 पटक पढिएको

दरवाङ २३ असोज । म्याग्दीका जनप्रतिनिधिहरुले प्रवासीहरुलाई बिदेशमा आर्जेको ज्ञान, सिप र पुजीलाई जिल्लामा भित्र्याउन आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सोमबार दरवाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख र वडा अध्यक्षहरुले आफ्नो जन्मथलोको आर्थिक विकासका लागि लगानी भित्र्याउन आग्रह गरेका हुन् ।

बिदेशमा आर्जेको पुजी, ज्ञान, सिप र प्रबिधिलाई जिल्लामै रोजगारी सिर्जना गरी अरु नेपालीलाई स्थानीय स्तरमै रोजगार बन्ने गरी उद्यम व्यवसाय गर्न आग्रह गरेका थिए । साथै उनिहरुले शिक्षा, स्वास्थ्य, प्रबिधिको पहुँच विस्तार र सामाजिक रुपान्तरणका अभियानमा प्रवासीको सहयोगको अपेक्षा राखेका छन् ।

बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले लोपोन्मुख कला संस्कृतीको संरक्षणका लागि सहयोग र पर्यटनका लागि होटल क्षेत्रमा लगानी भित्र्याउन आग्रह गर्नुभयो । अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले नयाँ पर्यटकीय स्थलमा होटल, रिसोर्ट खोल्न र प्रवासीहरुको पहलमा जलविद्युत आयोजना बनाउन सुझाव दिनुभयो ।

मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले कृषि र पशुपालन क्षेत्रमा बिदेशमा सिकेको सिप र प्रबिधि भित्र्याई आर्थिक सम्बृद्धी, रोजगारी सिर्जना र आयआर्जन वृद्धीमा भुमिका खेल्नुपर्ने बताउनुभयो । मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले ओखरबोटको तामा, निस्कोट र रुमको स्लेट खानीलाई व्यवस्थीत रुपमा सञ्चालन गर्न लागेको जानकारी गराउँदै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारमा सघाउन आग्रह गर्नुभयो ।

धौलागिरी गाउँपालीका अध्यक्ष थमसरा पुनले जलविद्युत, कृषि, पर्यटन, पशुपालन र जडिवुटीको व्यवसायीक खेती गरेर आफू स्वरोजगार, आम्दानी र अरुलाई रोजगारी दिन सकिने सम्भावना रहेको बताउनुभयो । रघुगंगा गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारीले सिपमुलक तालीम केन्द्र स्थापना गर्न लागीएको बताउँदै सिप सिकेका युवाहरुलाई रोजगारी सिर्जना जन्मथलोमा फर्कीएर उद्यम व्यवसायमा लाग्न आग्रह गर्नुभयो ।

गाउँपालीकाका अध्यक्ष र नगरपालीकाका प्रमुखहरुले निजी क्षेत्र, प्रवासीहरुको जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा लगानी भित्र्याउन अनुकुल नितीगत व्यवस्था गरेको, स्थानीय स्तरमा समन्वय गरिने, पुर्वाधार निर्माणमा प्राथमिकता दिने प्रतीवद्धता जनाउनुभयो । उहाँहरुले स्थानीय तहको नितीगत व्यवस्था र भावी योजनाको विषयमा समेत जानकारी गराउनुभएको थियो ।मोनाका अध्यक्ष योगेन्द्र क्षेत्री, संरक्षक प्रकाश पुन, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, मोनाका उपाध्यक्ष बिनोद कुँवरले लगानी भित्र्याउने अनुकुल नितीगत व्यवस्था, काम गर्ने वातावरण र लगानीको सुरक्षा मिलाउनुपर्ने बताउनुभयो ।

मोनाका महासचिव घनश्याम शाहीले सञ्चालन गर्नुभएको कार्यक्रमको संरक्षक चन्द्रकुमार केसीले सहजिकरण गर्नुभएको थियो । आईतबारदेखि सुरु भएको मोनाको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिने जनाइएको छ ।