संविधान संशोधन रोक्ने पक्षमा प्रधानमन्त्री

  • १७ फाल्गुन २०७३, मंगलवार
  • 1429 पटक पढिएको

pm-prchanda

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई संविधान संशोधन प्रस्ताव रोकेर निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ मोर्चाका नेतासँग भएको छलफलमा प्रधानमन्त्रीले संसद्मा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव तत्काल पास हुने स्थिति नभएको भन्दै प्रस्ताव केही समय रोक्न आग्रह गरेका छन्।

संशोधन प्रस्ताव तत्काल रोकेर संशोधन पक्षधर पार्टीले अर्को एउटा सहमति गर्न पनि उनले प्रस्ताव राखेका थिए।

प्रधानमन्त्रीले छलफलमा संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्‍याउन केही समय लाग्ने बताएका थिए। त्यस बेलासम्म संशोधन पक्षधर पार्टीहरू एक ठाउँमा आई संशोधन पास गराउने पक्षमा सहमति गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीको छ। संशोधन प्रस्ताव पास नहुन्जेल रोक्न पनि उनले मोर्चाका नेताहरूसँग आग्रह गरे।

संशोधन पक्षधर पार्टी एक ठाउँमा आई सहमति गरेमा एमालेलाई पनि संशोधनमा आउन दबाब हुने प्रधानमन्त्रीको भनाइ थियो। केही समयपछि संशोधन प्रस्तावका पक्षमा एमाले र राप्रपा पनि आउने सम्भावना भएको उनले बताएका थिए। ‘अहिले एमाले र राप्रपा संशोधन प्रस्तावका पक्षमा नआउने भए। त्यसैलेे प्रस्ताव रोकौं, चुनावमा जाऔं’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘केही समयपछि प्रस्ताव पास हुने स्थिति छ। एमाले र राप्रपा पनि आउन सक्छन्।’

छलफलमा मोर्चाका नेताहरूले भने अहिले दलहरूबीच विश्वासको संकट उत्पन्न भएको बताएका थिए। उनीहरूले परिमार्जनसहित संशोधन प्रस्ताव पास नभएसम्म मोर्चा कुनै पनि अवस्थामा चुनावमा नजाने अडान लिएका छन्।

प्रधानमन्त्रीले भने संशोधन प्रस्ताव पास गराउन पहल भइरहेको बताउँदै सरकारले पहल गर्दागर्दै पनि तत्काल संशोधन प्रस्तावका पक्षमा दुई तिहाइ पुग्ने स्थिति नभएको बताएका थिए।

‘प्रधानमन्त्रीज्यूले तत्काल संशोधन प्रस्ताव पास हुने स्थिति छैन। संशोधन पक्षधर पार्टीहरूले एउटा सहमति गरौं, चुनावमा जाऔं भनी प्रस्ताव राख्नुभयो’, प्रधानमन्त्रीसँग छलफलपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नागरिकसँग भने, ‘परिमार्जनसहित संशोधन प्रस्ताव पास नभएसम्म चुनावमा जान्नौं भनी हामीले अडान दोहोर्‍यायौं।’

प्रधानमन्त्रीले सबै संशोधन प्रस्ताव मिलाएर सहमतिका आधारमा संशोधन गर्ने आश्वासन दिएका थिए।

छलफलमा मोर्चाका नेताले स्थानीय तहको चुनावका लागि संरचना तयार नभएको भन्दै वैशाख ३१ गते चुनाव हुन नसक्ने बताएका थिए। प्रधानमन्त्रीले भने मधेसमा स्थानीय तहको संख्या बढाउने आश्वासन दिएका थिए। मधेसमा स्थानीय तहको संख्या बढाउन मन्त्रीस्तरीय समितिले काम गरिरहेको उनले बताएका थिए। मोर्चाका नेताहरूले मन्त्रीस्तरीय समितिले प्रतिवेदन बुझाएपछि स्थानीय तहमा झनै ठूलो आक्रोश पोखिने धारणा व्यक्त गरेका थिए। ‘हामीले प्रधानमन्त्रीलाई वैशाख ३१ गते स्थानीय तहको चुनाव हुनै नसक्ने भन्यांै’, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष्य राजेन्द्र श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले हामीलाई चुनावमा आउन आग्रह गर्नुभयो। ‘

मोर्चाका नेताले स्थानीय तहको चुनाव मिति स्थगित गरी पहिले केन्द्रीय संसद्को चुनाव गर्नुपर्ने प्रस्ताव राखेका थिए। पहिले केन्द्रीय संसद्को चुनाव गर्नुपर्ने, त्यसपछि प्रदेशसभाको चुनाव गर्ने र स्थानीय तहको चुनाव प्रदेशसभाले गर्नुपर्ने अडान मोर्चाका नेताहरूले राखेका छन्। प्रदेशको संख्या पनि हेरफेर गर्न सकिने गरी संशोधन प्रस्तावमा परिमार्जन हुनुपर्ने माग मोर्चाको छ। ‘पहिले केन्द्रीय संसद्को चुनाव गरौं, त्यसपछि प्रदेशसभा र स्थानीय चुनाव गरौं भनी हामीले प्रस्ताव राख्यांै’, श्रेष्ठले भने।

छलफलमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष महतो र फोरम नेपालका सहअध्यक्ष श्रेष्ठ सहभागी थिए। छलफल सकिनै लाग्दा तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव पनि बालुवाटार पुगेका थिए।