मसाल पनि वाम गठबन्धनकै पक्षमा छ : मोहनबिक्रम सिंह

  • २१ आश्विन २०७४, शनिबार
  • 2307 पटक पढिएको

चितवन- नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहले एमाले, माओवादी केन्द्र लगायतका पार्टी सम्मिलत चुनाबी मोर्चा बन्नु सकारात्मक भएको बताएका छन् । अर्धभुमिगत अवस्थामा रहेका पुराना बामपन्थी नेता सिंहले त्यो गठबन्धनले कम्युनिष्ट पार्टी निर्माणमा भने योगदान नदिने धारणा राखे । उनीहरु कम्युनिष्ट नीति सिद्धान्तमा नरहेको सिंहको भनाइ थियो ।

‘गठबन्धनको सबभन्दा राम्रो र सकारात्मक कुरा काँग्रेससँगको सहकार्यबाट माओवादी पार्टी अलग भएको छ’ केसीले भने । आफुहरु पनि वामपन्थी गठबन्धनको पक्षमा नै रहेको उनले बताए । ‘संविधान जारी गर्ने जुन शक्तिहरु थिए ति एक भएर संविधान कार्यन्वयनमा पनि लाग्नु पर्दथ्यो । तर पहिला काँग्रेस र पछि माओवादी भारतीय स्वार्थमा लागे’ सिंहको भनाइ थियो ।

काँग्रेसले लगातार राष्ट्रको हित विपरित भारतीय चाहना अनुरुपको काम गरेका कारण आउँदो चुनावमा त्यो चिन्तनलाई पराजित गर्न बाम गठबन्धन आवश्यक भएको उनले बताए । मसाल पार्टीको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले काँग्रेससँग पनि चुनावमा तालमेल गर्न सक्ने भनेर आएका समाचार भ्रामक भएको उनले बताए । ‘तालमेलका लागि हाम्रो प्रथामिकतामा बाम गठबन्धन नै पर्छ । स्थानीय चुनावमा काँग्रेससँग पनि तालमेल नभएको होइन तर स्थानीय चुनावमा संविधान जारी गर्ने गणतन्त्र पक्षधर शक्तिसँग तालमेल गर्ने नीति लिएर तालमेलका लागि स्थानीय कमिटीलाई अधिकार दिएका थियौं ।

अहिले राष्ट्रिय रुपमा नै तालमेल हुन्छ’ नेता सिंहले भने । चुनाबी तालमेलका लागि मसाल निकटको मोर्चाले वार्ता कमिटि बनाएको र सो वार्ता कमिटिले वाम गठबन्धनमा सामेल शक्तिहरुसँग मात्रै छलफल गरेको उनले बताए । ‘हाम्रो वार्ता कमिटिले एमाले लगायतका शक्तिसँग मात्रै वार्ता गरेको छ । कमिटिले काँग्रेससँग त वार्ता पनि गरेको छैन । चित्रबहादुर केसी जी काँग्रेसले बेलाएका कारण व्यक्तिगत रुपमा जानु भएको हो’ नेता सिंहले भने । Source: www.nagariknews.com