म्याग्दीका राजनितिक दलहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा

  • १७ आश्विन २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 2667 पटक पढिएको

म्याग्दी १७ असोज । म्याग्दीमा क्रियाशिल राजनितिक दलहरु आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् ।२०७४ बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा आगामी मंसिर १० गते पहिलो चरणमा संघ र प्रदेशको चुनाव हुदैछ् । एक नगरपालीका, पाँच गाउँपालीका र ४५ वटा वडा रहेको म्याग्दीमा प्रदेशसभाका लागि दुई तथा संघका लागि एक वटा निर्वाचन क्षेत्र कायम भएको छ ।

चुनावलाई लक्षित गरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रले उमेद्वार सिफारीससंगै कार्यकर्ता भेटघाट, भेला, बैठक र संगठन परिचालनलाई तिब्रता दिएका छन् । नेपाली काँग्र्रेसले उमेद्वार छनौटको विषयमा आन्तरीक छलफल तिब्र बनाएको जनाएको छ ।
यसअघि एक चरणको बैठकमा उमेद्वार छनौटको विषयले प्रवेश पाएको र मंगलबार बस्ने जिल्ला कार्यसमितिको बैठकले सम्भवत उमेद्वारको नाम सिफारीस गर्ने नेपाली काँग्रेस म्याग्दीका नेता अजयमिलन श्रेष्ठले बताउनुभयो ।

नेकपा एमालेले प्रदेशसभाको दुई वटै निर्वाचन क्षेत्रमा संयोजक तोकेर स्थानीय तह स्तरमा कार्यकर्ता भेटघाट अभियान सञ्चालन गरेको छ । स्थानीय तहबाट आकाक्षीहरुको नाम संकलन गरी जिल्ला कमिटिको बैठकबाट प्रदेश र केन्द्रिय कमिटिलाई सिफारीस गरिने एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले बताउनुभयो ।

क्षेत्र नम्बर २ को असोज २० गते दरवाङ र १ को २१ गते बेनीमा कार्यकर्ता भेला आयोजना गरेको एमालेले असोज २३ र २४ गते जिल्ला कमिटि बैठक बोलाएको छ । नेकपा माओवादी केन्द्रले प्रदेश र संघको चुनावका लागि प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारको नाम सिफारीस गरिसकेको छ ।

संघको प्रत्यक्षतर्फ जिल्ला संयोजक तथा पुर्व सभाषद् गोविन्द पौडेल, खुमनाथ सुवेदी र चन्द्रबहादुर घिमीरेलाई सिफारीस गरिएको नेता देवराज सुवेदीले जानकारी दिनुभयो । यसैगरी समानुपातीकतर्फ विश्व सेन मल्ल र यामन रोकाको नाम सिफारीस भएको छ । प्रदेश सभाको क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ सुवास बिक र हरि भण्डारी, २ मा पुनम खड्का, याम रोका र राजेन्द्र शेरचनलाई सिफारीस गरिएको छ ।

प्रदेशको समानुपातीकतर्फ क्षेत्र नम्बर १ मा ईन्द्रबहादुर पुन, हेमा छन्त्याल र लालकुमारी पुन तथा क्षेत्र नम्बर २ बाट टेकबहादुर बिक र होमलाल पुनको नाम सिफारीस भएको छ । जिल्ला ईञ्चार्ज मानबहादुर बुढाको नेतृत्वमा जिल्ला तथा क्षेत्र नम्बर १ मा बिनोद केसी र २ मा देवराज सुवेदीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।
प्रदेशसभाको क्षेत्र नम्बर १ मा बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका तथा क्षेत्र नम्बर २ मा मंगला, मालीका र धौलागिरी गाउँपालीका रहेका छन् । स्थानीय तह निर्वाचनमा बेनी नगरपालीका, मालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाको प्रमुख पदमा नेपाली काँग्रेस तथा मंगला र धौलागिरी गाउँपालीकाको अध्यक्षमा नेकपा एमाले बिजयी भएको थियो । स्थानीय तह निर्वाचनमा ७१ हजार मतदाता रहेकामा पछिल्लो समय चार हजार मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सन्तोष गौतम