बेगखोलामा आएको बाढीले ट्याक्सी बगायो

  • १७ आश्विन २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 8089 पटक पढिएको

म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालीका १ मा रहेको बेगखोलामा आएको बाढीले सोमबार साँझ ट्याक्सी बगाएको छ । बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेको छ । पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको प्रहरीले जनाएको छ ।

खोला तर्ने क्रममा बाढी आएर फसेको ट्याक्सी धकेलेर खोला पार गराउने क्रममा बगाएर कालीगण्डकीमा पु¥याएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो । ट्याक्सी करिब एक सय मिटर तल कालीगण्डकी नदीको बिचमा ढुङ्गामा अड्कीएको छ । चालक र यात्रुहरु भने ट्याक्सी फसेपछि झरेका थिए । बाढीले सडक कटान गरेकाले जोमसोमबाट बेनीतर्फ आउन लागेका र बेनीबाट जोमसोमतर्फ जाने सवारी साधनहरु बिचबाटेमै रोकीएका छन् ।

मुस्ताङ भ्रमण, मुक्तिनाथ तिर्थयात्रामा आएका हजारौ पर्यटक तथा स्थानीयबासीहरु अलपत्र परेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले मंगलबार बिहानैदेखि डोजर परिचालन गरेर सडक खुलाउन पहल भैरहेको बताउनुभयो ।
दसै लगत्तै मुस्ताङ भ्रमणमा आउने पर्यटकको चाप बढेको अवस्थामा सडक अवरुद्ध हुँदा उनीहरु समस्यामा परेका छन् । वि.स २०७३ भदौ दोस्रो साता बेगखोलामा आएको बाढीले बस्ती र त्यहाँ रहेको झोलुङ्गे तथा बेलीब्रिज बगाएको थियो । गत असारमा निर्माण गरिएको अस्थाई मोटरेबल पुल समेत बाढीले बगाएपछि बेगखोलामा बाढी आउँदा सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।फाईल तस्बिर

सन्तोष गौतम