दाङखोलामा मोटरेबल पुल नहुँदा समस्या

  • १६ आश्विन २०७४, सोमबार
  • सन्तोष गौतम
  • 2579 पटक पढिएको

बाबियाचौर, म्याग्दी १५ असोज (रासस) म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ ।

मालीका गाउँपालीका ५ र धौलागिरी गाउँपालीका ७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेबल पुल नहुँदा धौलागिरी गाउँपालीकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् ।

हिउँदमा पानीको सतह घटेको अवस्थामा खोलाबाटै सवारी साधन तार्ने गरीएपनी बर्खा यामको चार महिना सिधा सवारी सञ्चालन हुन नसकेको यातायात व्यवसायी खुमबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार पुल अभावमा सर्वसाधारण सवारी साधन परिवर्तन गरेर अथवा पैदल हिडेर गन्तब्यमा पुग्ने गरेका छन् । सामान ढुवानी लागत महँगो पर्न गएको छ । सो खोलामा पुल नहुँदा धौलागिरी गाउँपालीकाको धारापानी, ताकम, मुना, मुदी, लुलाङ र गुर्जाका बासिन्दा प्रभावीत भएका छन् ।

धौलागिरी गाउँपालीकाका अध्यक्ष थमसरा पुनले दाङखोलामा अस्थाई पुल निर्माणका लागि यस वर्ष पाँच लाख रुपैया बजेट बिनियोजन गरिएको बताउनुभयो । बर्खा सुरु हुन अघिनै अस्थाई पुल निर्माण कार्य सुरु गरिएपनी पूर्णता पाउन सकेको छैन् । अस्थाई पुल निर्माण गरेपछि नियमित सवारी सञ्चालन हुने अध्यक्ष पुनले बताउनुभयो ।

सन्तोष गौतम