मौवाफाँटमा दशैँमा गाउँ फर्किएकालाई रोटेपिङको मनोरञ्जन (फोटो फिचर)

  • १३ आश्विन २०७४, शुक्रबार
  • कमल खत्री
  • 2630 पटक पढिएको

म्याग्दी, १३ असोज ।  दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा भने लिंगे पिङ र रोटेपिङले चहलपहल बढाएको छ ।

शहरबजारबाट दशैँ मनाउन गाउँ फर्किएकाहरु समेत लिङ्गे पिङ र रोटेपिङ( चमच्चा)मा चढेर आनन्द लिईरहेका छन् । स्थानीय अगुवाहरुको पहलमा लोपउन्मुख बनेका पिङहरुको संरक्षण संगै स्थानीय मौलिक मनोरञ्जनको लागि रोटेपिङ हालिएको मौवाफाँटका मुकुन्द शर्माले बताउनुभयो ।


स्थानीय स्तरमा सहयोग जुटाएर रोटेपिङको लागि आबश्यक पर्ने सामान जुटाएर तयार गरिएको रोटेपिङमा सर्वसाधारणलार्य निशुल्क रुपमा रोटेपिङको मज्जा लिने व्यवस्था गरिएको छ ।

अहिले बालबालिकादेखि पौढ सम्मका व्यक्तिहरुले पालैपाले पिङमा चढेर मनोरञ्जन लिईरहेका छन् । “वर्षमा एक दिन धर्ती छाड्नुपर्छ” भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन रहेको छ । हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपाली यस्ता संस्कृति विस्तारै हराउँदै गईरहेका छन् ।


पिङ किशोर, युवादेखि वयस्कसम्म सबै लिङ्गका मानिसको रुचिको विषय हो । परम्परागत रुपमा पिङको निरन्तरताको लागि युवा भेला भई हरियो खर काटेर बलियो लिंगे पिङ बनाउने प्रतिस्पर्धा नै चल्ने गरेको समेत पाईन्छ । पछिल्लो समयमा खरले बाटेका पिङ पनि लोप हुँदै गइरहेका छन् ।

नेपाली मौलिक परम्परा तथा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा लोप हुने खतरा बढीरहेको सन्दर्भमा यसरी मौवाफाँटबासीले पिङको निरन्तरताको लागि देखाएको तत्परता स्रहानिय छ ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l