अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्न अभियान सुरु

  • १७ फाल्गुन २०७३, मंगलवार
  • 1687 पटक पढिएको

dvवासिंटन, १७ फागुन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको एक महिनामात्र भएको अवस्थामा उनलाई पदबाट हटाउन अभियान सुरु गरिएको छ ।

राष्ट्रपति ट्रम्पका केही योजना र उनले दिदैं आएका विवादास्पद अभिव्यक्तिका कारण वैश्विक स्तरमा पनि उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव आउन सक्ने र छोटो समयमै बर्खास्त हुन सक्ने अनुमान गरिएकै समयमा क्यालिफोर्नियाको रिचमण्ड सिटी काउन्सिलले सर्वसम्मतिबाट ट्रम्पविरुद्ध अविश्वास प्रस्ताव संसदमा दायर गर्न अपिल गरेको छ ।

उसले ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने आधारका बारेमा विचार गर्न पनि संसदलाई अपिल गरेको छ ।

त्यसो त पूर्व राष्ट्रपति बाराक ओबामा र जर्ज डब्ल्यू बुशविरुद्ध पनि महाभियोग प्रस्ताव ल्याउन आवाज उठेको थियो । ओबामाको दोस्रो कार्यकालको मध्यतिर र जर्ज बुशको कार्यकालको अन्त्यतिर त्यस्तो चर्चा चलेको थियो तर ट्रम्पले जिम्मेवारी सम्हालेको एक महिना बित्दा–नबित्दै यस्तो चर्चा चुलिएको छ ।

अमेरिकी संविधानमा राष्ट्रपतिले मानसिक क्षमता गुमाएको अवस्था, आफ्नो सरकारलाई कुनै अनियमिततामा सामेल गराएको अवस्था वा विदेशी शक्तिको विश्वासमा धक्का लगाएको अवस्थामा उसलाई पदबाट हटाउनु अमेरिकाको हितमा हुने उल्लेख छ ।

विज्ञहरुका अनुसार राष्ट्रपति ट्रम्पविरुद्ध यी सबै आधारमा महाभियोग लगाउन सकिन्छ । यी आरोपमध्ये संसदले कुनै एक बुँदालाई सही ठह¥याएमा महाभियोग प्रक्रिया सुरु हुन सक्छ ।

ट्रम्पको पद खतरामा पर्ने तीन कारण

१. व्यावसायिक संलग्नता

अमेरिकी संविधान र सरकारी सिद्धान्तका विज्ञले ट्रम्पले राष्ट्रपति पद सम्हाल्नु अघि नै गत नोभेम्बरमा उनलाई विश्वमा फैलिएको आफ्नो व्यावसायिक कारोबार बेच्न र सम्पत्तिलाई कुनै ट्रस्टमा जम्मा गर्न सुझाव दिएका थिए । तर ट्रम्पले उक्त सुझावलाई बेवास्ता गर्दै आएका छन् ।

२. विवादित ट्रम्प प्रशासन

राष्ट्रपतिका रुपमा ट्रम्पले एक महिना पार नगर्दै उनको प्रशासनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिइसकेका छन् । फ्लिनमाथि गत डिसेम्बरमा रुसी राजदूतसँग पूर्व राष्ट्रपति बाराक ओबामाद्वारा रुसमाथि लगाइएको प्रतिबन्धका बारेमा चर्चा गरेको आरोप लगाइएको थियो ।

३. विभिन्न मुलुकसँग भेदभाव

ट्रम्पले आप्रवासी मुद्दामा छिमेकी मुलुकसहित विभिन्न खाडी मुलुक र केही एसियाली मुलुकलाई निशाना बनाए । उनले पहिलो महिनामै विभिन्न ७ मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । यी फैसलाले अमेरिकी सरकारको अन्तर्राष्ट्रिय हितलाई नोक्सान पुर्‍याएको आशंका गरिदैंछ । यस्तो आशंकाका आधारमा पनि उनीमाथि महाभियोग लगाउन सकिने विज्ञहरुको भनाइ छ । (एजेन्सी)