म्याग्दीका कोतघरहरुमा फुलपाती भित्र्याइयो

  • ११ आश्विन २०७४, बुधबार
  • सन्तोष गौतम
  • 2381 पटक पढिएको

म्याग्दी, ११ असोज । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमी बुधबार म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइएको हो ।

सदरमुकाम बेनी, ज्यामरुककोत, भगवती, पिप्ले, मौवाफाँट, ताकम, पर्वतको मल्लाज लगायतका ठाउँमा रहेका कोतघरहरुमा शास्त्रीय बिधि अनुसार शक्तिको आरधनाका साथ पूजा गरेर फुलपाती भित्र्याइएको छ । बेनी स्थित कोतघरमा शिवालय मन्दिरबाट फुलपाती ल्याएर भित्र्याइएको थियो । नेपाली सेनाको श्रीबक्स गुल्म र जिल्ला प्रहरी कार्यालयका प्रहरी सहितको टोलीले शिवालय मन्दिरबाट ल्याएको फुलपाती बजार परिक्रमा गराई कोतघरमा बिधीपुर्वक भित्र्याइएको थियो ।

संगमचोकमा पुजाआजा गरिनुका साथै फुलपाती भित्र्याउने बेलामा सेना र प्रहरीको टोलीले सलामी अर्पण गरेका थिए । सो कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, श्रीबक्स गुल्मका गुल्मपती अनीलकुमार बुढाथोकी, वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, रामकृष्ण बराईली लगायत जनप्रतिनिधि र बजारबासीको उपस्थिती रहेको थियो । लक्ष्मिनारायण मन्दिर संरक्षण समितिले पुजा स्थलमा दुर्गा माताको महिमाको विषयमा भजनकिर्तन गरेका थिए ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने फुलपाती भित्र्याएपछि बढेको छ । फुलपातीका दिनदेखि सरकारी कार्यालय बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र भएको छ । सहरी क्षेत्र सुनसान बन्न थालेका छन् । ग्रामीण भेगमा दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङ हाल्न थालीएसंगै दसैँको रौनकता छाएको छ ।

 

सन्तोष गौतम