परिवर्तनलाई संस्थागत गर्न माओवादीको नेतृत्व अपरिहार्य : नेता शेरचन

  • ११ आश्विन २०७४, बुधबार
  • 2211 पटक पढिएको

म्याग्दी ११ असोज । नेकपा (माओवादी केन्द्र)का नेता अमिक शेरचनले जनयुद्ध र जनआन्दोलनको जगबाट प्राप्त उपलब्धिको रक्षाको लागि माओवादीको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ । प्रेस सेन्टर म्याग्दीले बुधवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममबा बोल्दै नेता शेरचनले माओवादी जनयुद्ध र विभिन्न आन्दोलनहरुको बलमा नेपालमा संघियता, गणतन्त्र, संविधान सभा मार्फत नयाँ संविधान, धर्मनिरपेक्षता, समानुपातीक समावेशीता जस्ता ऐतिहाँसिक उपलब्धीहरु प्राप्त भएको बताउनुभयो ।

परिवर्तनको नेतृत्व गरेको माओवादीले मात्रै प्राप्त उपलब्धिको रक्षा गर्न सक्ने भन्दै उहाँले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समेत माओवादी बलियो शक्तिको रुपमा स्थापीत हुने दावि गर्नुभयो । ‘‘ स्थानीय तह निर्वाचनमा प्राप्त नतिजा सम्मानजक छ, विभिन्न कारणले विभाजीत क्रान्तिकारी र माओवादी धारका पार्टीहरुलाई एकजुट हुन मतदान मार्फत पनि जनताले सन्देश दिएका छन्’’– नेता शेरचनले भन्नुभयो ।

माओवादी विभाजन हुँदा निरास बनेका कार्यकर्ता र जनताहरु माओवादीहरु बिचको एकताको अभियानले पुनः उत्साहित बन्दै गएको धारणा राख्दै आसन्न निर्वाचनमा परिवर्तनकारी शक्तिहरुसंग आबश्यकता अनुसार तालमेल हुन सक्ने बताउनुभयो । नेता शेरचनले परिवर्तनको पक्षमा रहेका शक्तिहरुसंगको सहकार्य गर्ने विकल्प खुल्ला राख्ने र तालमेल सम्भब नभए एक्लै चुनाव लड्ने तयारीमा पार्टी रहेको स्पष्ट पार्नुभयो ।

स्थानीय तहको कार्यान्वयनले पछाडी परेका महिला, दलीत, जनजातीलाई स्थानीय सरकारको नेतृत्वमा पु¥याएको उहाँको भनाई थियो । उहाँले माओवादी केन्द्रले प्रत्येक वडामा केन्द्रिय नेता खटाउने निती अघि सारेको बताउँदै निर्वाचनमा करोडौँ पैसा खर्च गरेर चुनाब लड्ने विकृती हटाउनका लागि पूर्ण समानुपातीक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको लागि माओवादीले संघर्ष गर्ने समेत बताउनुभयो ।

उहाँले बामपन्थी आन्दोलनलाई उचाईमा पु¥याउने र सच्चा कम्युनिष्टहरुको नेतृत्व माओवादीले मात्रै गर्न सक्ने भन्दै विभाजीत भएका माओवादी धार र परिवर्तनकारी शक्तिहरु एकतामा आउनुको विकल्प नभएको समेत बताउनुभयो । उहाँले क्रान्तिलाई अगाडी बढाउन पार्टीमा अन्तरसंघर्ष अनिबार्य हुने भएकाले पार्टीभित्रको अन्तरविरोधकै कारण पार्टी विभाजन हुनु दुखुत हुने भन्दै पार्टीभित्रै बसेर क्रान्तिलाई पूर्णता दिनेतर्फ लाग्नुपर्ने आबश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले प्रचण्ड नेतृत्वका सरकारका पालामा म्याग्दीको विकासमा दिर्घकालीन महत्व राख्ने योजना कार्यान्वयन अघि बढेको बताउनुभयो । बेनी–दरवाङ–ढोरपाटन सडकलाई मध्यपहाडी राजमार्गको बिकल्प बनाउने, राहुघाट जलविद्यूत आयोजनालाई अगाडी बढाउनका लागि प्रकृयालाई तिब्र दिने, म्याग्दी र राहुघाट क्षेत्रका सडकलाई चक्रपथ बनाउने, कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक स्तरवृद्धी र विद्युत प्रशारण लाईन निर्माणको काम अघि बढेकोे जानकारी दिनुभयो । प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सचिव सन्दिप खत्रीको सञ्चालन र उपाध्यक्ष पदम बिश्वकर्माको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।