बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्नु पर्छ ।

  • ११ आश्विन २०७४, बुधबार
  • कमल राना
  • 1773 पटक पढिएको

म्याग्दी, ९ असोज । बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल पर्यटन पत्रकार संघ बागलुङले ३७ औँ विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको विकासको लागि दीगो पर्यटनमा सञ्चार क्षेत्रको भुमिका विषयक अन्तरक्रिया तथा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम कावक्तहरुले बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका हुन् ।

पर्यटन क्षेत्र राम्रो आर्थिक श्रोत हुने बताउँदै जिल्लालाई अब रेमिटेन्सको भन्दा पर्यटनको जिल्लाको रुपमा चिनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका हुन् । जिल्लामा ढोरपाटन शिकार आरक्षण केन्द्र, कालिका मन्दिर, पञ्चकोट, घुम्टे, हाँडीकोट, भकुण्डे लगायतका थुप्रै पर्यटकीय क्षेत्र रहेको बताउँदै वक्ताहरुले पर्यटन क्षेत्र दीगो आर्थिक श्रोत हुनेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले जिल्लामा थुर्पै पर्यटकीय क्षेत्रहरु भएपनि प्रयाप्त प्रचारप्रसारको अभावमा अपेक्षाकृत पर्यटकहरु भित्राउन नसकेको बताउनु भयो ।

शिरिषले पर्यटन पत्रकारिताको क्षेत्रमा कलम चलाएर सञ्चारकर्मीहरुले मार्गदर्शन गर्नु पर्नेमाजोड दिनु भयो । नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय सचिव तारा प्रसाद शर्माले दीगो विकासको लागि पर्यटन नै उपयुक्त भएको बताउँदै पर्यटकीय जिल्लाको रुपमा विकास गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताउनु भयो । नेपाल पत्रकार महासंघका बागलुङका सल्लाहकार रामबहादुर जिसीले बागलुङलाई पर्यटकीय क्षेत्रको विकासको लागि पूर्वाधार निर्माणमा जोड दिनु पर्ने बताउनु भयो ।

पूर्वाधार निर्माणको अभावमा आन्तरिक तथा बाह्यपर्यटक भित्राउन गाह्रो हुने बताउँदै पर्यटकीय स्थल सम्मपुग्नको लागि सहज यातायात सुविधा हुनु पर्ने उहाँको जोड थियो । कालिगण्डकी करिडोरले भारत र चीनको तिब्बत सम्मको दुरि छोटिएकाले लुम्बिनी जाने बुद्धधर्मवालम्बी र मुक्तिनाथजाने भारतीय हिन्दु धर्मावलम्बीहरुलाई जिल्लामा आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्दछ । नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन मैत्री वातावरण हुनु पर्नेमा जोड दिनु भयो । ड्राइभरको बोलिव्यवहार देखि होटलले गर्ने आतिथ्यता समेत पर्यटन मैत्रीहुनु पर्ने राजभण्डारीेको भनाइ थियो ।

नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय सदस्य विक्रम सुनारले पर्यटन मैत्रिवातावरण निर्माणको लागिआफुहरुले निरन्तर कलमचलाउने बताउनु भयो ।  फोटो पत्रकार संघका मञ्जुल शाक्यले पर्यटन क्षेत्रको विकासको लागि साना–साना कुरामा पनि ध्यानदिनु पर्ने बताउँदै जिल्लामा प्रसस्त मात्रामा पर्यटकीय क्षेत्र रहेको बताउनु भयो । नेपाल पर्यटन पत्रकार संघ बागलुङका अध्यक्ष विजय रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य उपाध्यक्ष नारायण रिजाल र सञ्चालन सचिव रबिना बोहोराले गर्नु भएको थियो ।

 

कमल राना