सुरक्षित यात्राको लागि ग्रामिण सडकमा छड्के चेकजाँच

  • १० आश्विन २०७४, मंगलवार
  • 2329 पटक पढिएको

बेनी १० असोज । म्याग्दीको ग्रामिण सडकमा छड्के चेकजाँच सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले तयार पारेको चाडपर्व लक्षित बिशेष सुरक्षा योजना अन्तरगत ट्राफिक कार्यालय र यातायात व्यवसायीले संयुक्त रुपमा छड्के अनुगमन सुरु गरेका हुन् ।

बेनी देखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनले क्षमत्ता भन्दा बढी यात्रु बोक्ने, तोकिएको भन्दा बढी भाडा लिने, ट्राफिक नियम पालना नगर्ने लगायत जनगुनासो बढेपछि संयुक्त रुपमा छड्के चेकजाँच सुरु गरेको जिल्ला ट्राफिक प्रमुख शिवप्रसाद पाठकले बताउनुभयो । वाईट
म्याग्दी जिप तथा बस व्यवसायी समिति र ट्राफिक प्रहरी कार्यालयको टोलीले मंगलबार बेनी दरवाङ सडकको डम्मरा खण्डमा छड्के चेकजाँच गरेको थियो ।

सामान बोक्ने प्रयोजनका लागि दर्ता भएर भाडामा यात्रु बोक्ने निजी जिप, क्षमत्ता भन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने, साथमा कागजपत्र नभएका सवारी धनी र चालकहरुलाई कारबाही गरिएको थियो । दुर्घटना न्युनीकरण र सवारी नियम पालना गर्नका लागि सघाउने उद्देश्यले संयुक्त अनुगमन गरिएको म्याग्दी जिप तथा बस व्यवसायी समितिका कार्याबाहक अध्यक्ष लालबहादुर थापाले बताउनुभयो । बेनी देखि ग्रामिण क्षेत्रलाई जोड्ने अन्य सडकहरुमा पनी छड्के चेकजाँच तिब्र पारिने ट्राफिक प्रहरीले जनाएको छ ।