मुक्तिनाथ सहकारीको दशौ साधारणसभा

  • ५ आश्विन २०७४, बिहीबार
  • सन्तोष गौतम
  • 2816 पटक पढिएको

बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारीले बचत र लगानीको काममा मात्र सिमित नरही व्यवसायीक, उत्पादनशिल र रोजगारमुलक बन्नुपर्ने बताउनुभयो ।

सहकारी अधिकृत शर्माले सहकारी ऐन संसोधनका क्रममा सेयर सदस्यले कारोबारको आधारमा बोनस वितरण गर्ने नितीगत व्यवस्था भएको जानकारी दिनुभयो । कार्यक्रममा बेनपा ६ का वडा अध्यक्ष कृष्णबहादुर बानिया, संस्थाका पूर्व अध्यक्ष कोषानन्द आचार्य, पूर्व प्रबन्धक दिनेश सुवेदी, सहसचिव भावना पौडेल, सेयर सदस्य अम्मरबहादुर थापा र ईश्वरी पराजुलीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष लिलाराम गौतमको स्वागत र सचिव डण्डपानी सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा एसईई परिक्षा उतिर्ण सेयर सदस्यका छोराछोरी, उत्कृष्ट कर्मचारी, सेयर सदस्य, बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।
सचिव सापकोटाले प्रगती, कोषाध्यक्ष कृष्णप्रसाद बरुवालले आर्थिक, शिक्षा उपसमिति संयोजक लिलाराम गौतमले शिक्षा र लेखा समितिका संयोजक नारायणप्रसाद सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

एक हजार ८४ जना सदस्यको एक करोड ३२ लाख ९५ हजार ८०० रुपैया सेयर पुजी रहेको सहकारीले गत आर्थिक वर्षमा पन्ध्र करोड ८० लाख ८० हजार ७०९ रुपैया निक्षेप संकलन र सत्र करोड ६१ लाख १७ हजार ६४९ रुपैया लगानी र १४ लाख २६ हजार ७३९ रुपैया खुद मुनाफा गरेको साधारणसभामा जानकारी गराइएको थियो ।

 

सन्तोष गौतम