सुरु भयो बडादसैं: आज घटस्थापना, उत्तम साइत ९:४१ बजे

  • ५ आश्विन २०७४, बिहीबार
  • 1721 पटक पढिएको

म्याग्दी,५ असोज । यसपालिको बडादसैं आजबाट सुरु भएको । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन (आज) बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ ।

साइत 
धेरैले बिहानको समयमा घटस्थापना गरे पनि साइत खोज्नेका लागि नेपाल पन्चांग निर्णायक समितिले बिहान ९ बजेर ४१ मिनेटको समय निर्धारण गरेको छ । ‘फुर्सद हुने र साइत खोज्नेले बिहान ९ बजेर ४१ मिनेटको समयमा जमरा राखेर घटस्थापना गर्नु राम्रो छ,’ समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

सत्यको विजय
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्वलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा तिथि बुधबार परे पनि तिथिको उदय भएको दिन बिहीबार परेकाले यसै दिनलाई प्रतिपदा तिथि मानी घटस्थापनाका लागि शुभ मानिएको हो ।

नवदुर्गा स्थापना
प्रतिपदाको दिन पूजा कोठा, दसैंघर अथवा कोतमा दियो, कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । घटस्थापनाका दिन पूजाकोठामा घैंटो अथवा घडामा जल भरेर माथिपट्टि आँप, चाप र वरपीपलको पात राख्ने परम्परा छ ।

 

१५ दिनको दसैं
यो घडावरिपरि गाईको गोबर टासेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ ।
यसपालिको दसैंमा सरासर तिथि भएकाले १५ दिनकै दसैं छ । तिथिमा आएको घटीबढी र तिथि टुट्ने गर्दा यसअघिका दसैंमा घटबढ भएको थियो ।

जमरा विसर्जन
समितिका अनुसार १४ असोज विजयादशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत रहेको छ । १९ असोजमा कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैं पर्व समापन हुन्छ । यही दिन घरघरमा राखिएको जमरा पनि विसर्जन गरिन्छ ।

source; ratopati