स्वदेश तथा विदेशसम्मको जागिरको अनुभवपछि भकिम्लीका नीउरे बाख्रापालनमा रमाउँदै (फोटोफिचर)

  • ३० भाद्र २०७४, शुक्रबार
  • कमल खत्री
  • 3654 पटक पढिएको

म्याग्दी, ३० भदौ । स्वदेश तथा विदेशका विभिन्न क्षेत्रको जागिर अनुभब संगालेका बेनी नगरपालिका–३ भकिम्लीका केशव शर्मा नीउरेले व्यवसायिक बाख्रापालन थालेका छन् । जागिरे यात्रामा मुलुकका विभिन्न क्षेत्रसंगै आधा दर्जन विदेशमा पसिना बगाएका ३० बर्षिय नीउरेले विगत एक बर्षदेखि घरमै व्यवसायिक बाख्रापालन थालेका हुन् ।


अरुको देशमा रातदिन काम गर्दा समेत दैनिक गुजारा चलाउन बाहेक अन्य उल्लेख्य प्रगती हाँसिक गर्न नसकिने निचोडमा पुगेपछि स्वदेशमै आत्मनिर्भर बन्ने अठोट सहित बाख्रापालनमा लागेको युवा कृषक नीउरेले बताए । गत बर्षदेखि व्यवसायिक रुपमा असिम आधुनिक बाख्रापालन फर्म सञ्चालन गरेका नीउरेको फर्ममा अहिले २५ वटा बाख्रा रहेका छन् ।

बोयर क्रस, जमुना पारि, वित्तल, खरि लगायतका स्थानीय र उन्नत जातका बाख्रा पालन गरेका उनले फर्मको पूर्वाधार निर्माण, माउ बाख्रा खरिद लगायतको क्षेत्रमा करिब रु २० लाख बढी लगानी गरीसकेका छन् । बाख्रापालनलाई थप व्यवस्थित र व्यवसायिक बनाउने तयारीमा लागेका नीउरेले भविष्यमा आफुले उत्पादन गरेका बाख्राहरुलाई स्थानीय, राष्ट्रिय देखि अन्तराष्ट्रिय बजार सम्म पु¥याउने संकल्प गरेका छन् ।

‘‘गत बर्षदेखि गाउँमै व्यवसायिक बन्ने योजना सहित कृषि र पशुपालनको कर्ममा लागेको हुँ, अहिले बाख्रापालनसंगै सुन्तला खेतीमा पनि लागेको छु, एकिकृत कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भनेर कृषि र पशुपालनलाई संगसंगै अगाडी बढाएको हँु’’–कृषक नीउरेले भने । उनले अहिले करिब १० रोपनी बारीमा व्यवसायिक सुन्तला खेती समेत थालेका छन् । सुन्तला उत्पादनको हिसाबले पकेट एरिया मानिने भकिम्लीमा उनले सुन्तला खेतीसंगै सुन्तलाको विरुवा समेत विक्रि वितरणको लागि नर्सरी समेत स्थापना गरेको बताए ।

नीउरेको सुन्तला बगैचामा अहिले बार्षिक करिब रु ६० हजार बराबरको सुन्तला उत्पादन हुँदै आएको छ । केही बर्ष अघि रोपण गरेका थप २ सय बढी विरुवाले तीन बर्षपछि उत्पादन दिन सूरु गरेपछि सुन्तलाबाट बार्षिक रु ४ लाख बढी उत्पादन गर्न सक्ने उनको अनुमान छ । कृषक नीउरेले कृषि पेसालाई व्यवसायिक बनाउनका लागि सुन्तलासंगै घाँसका विरुवा उत्पादनलाई समेत संगसंगै अगाडी बढाएका छन् ।

आफुले पालन गरेका बाख्राहरुको लागि आबश्यक पर्ने घाँस विस्तारसंगै अन्यलाई समेत विक्रिको लागि जिल्ला भुंरक्षण तथा बन कार्यालयसंगको समन्वयमा विभिन्न प्रजातिका घासका विरुवा उत्पादन सुरु गरेको बताए ।उनले निकट भविष्यमा बाख्रा पालनका, फलफुल, घाँससंगै टिमुरखेतीलाई समेत प्राथमिकता दिने योजना बनाएका छन् । साथै उनले बैँकहरुले सुलभ दरमा उपलब्ध गराउने कृषि कर्जाको पहुँच पुग्न सकेमा बाख्रापालन र सुन्तलाखेतीमा लगानी बढाएर थप व्यवसायिक बनाउने योजना रहेको जानकारी दिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l