दरबाङ बजारमा बसपार्कको अभाव

  • ३० भाद्र २०७४, शुक्रबार
  • धिरन खत्री
  • 5063 पटक पढिएको

म्याग्दी, ३० भदौँ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा सवारी साधनको चाप बढ्दै गएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा विकास भईरहेको यस दरबाङमा शहरीकरण तिब्र भएपनि व्यवस्थित बसपार्क नहुँदा यातयात व्यवस्थापनमा समस्या देखिएको छ ।


दरबाङदेखि विम, निस्कोट, देविस्थान, रुम, ओखरबोट हुँदै बागलुङको तमान लामेला, धौलागिरि गाउँपालिकाको ताकम हुँदै मुना लगायतका ठाउँमा समेत सवारी साधन आवत जावतको लागि सडक विस्तार भएकाले दरबाङ दर्जनौ गाउँबस्तीको संगम तथा व्यापारिक केन्द्र समेत हो ।बेनीबाट दरबाङ सम्म पुगेको सडक त्यहाँबाट छुट्टाछुट्टै ट्याकमा विस्तार भएर विभिन्न गाउँहरुमा जोडिएपछि सवारी साधनहरुको ओहोर दोहोर बढेसंगै दरबाङमा सवारी साधनहरुको उचित व्यवस्थापनको लागि व्यवस्थित बसपार्कको अभाब खड्किएको म्याग्दी उद्योग बाणिज्य संघ दरबाङ ईकाइका सभापती मोतिराज गौतमले बताए ।


‘‘ अहिले दरबाङ बजारभित्र अव्यवस्थित रुपमा सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता छ, सडक आईपुगेको १२ बर्ष वितिसक्दा समेत व्यवस्थित बसपार्क नबन्नु दुखत हो, अब छिट्टै गाउँपालिकाले समेत यसतर्फ चासो दिन जरुरी छ,’’–गौतमले भने । बेनी–बावियाचौर हुँदै २०६२ सालमा दरबाङमा यातयातको पहुँच पुगेको थियो । सडक सञ्जाल पुगेसंगै दरबाङ सहरीकरण उन्मुख बनेको थियो । अहिले गाउँपालिकाको कार्यालय रहेको भवन अगाडीको सडकको छेउ र व्यक्तिगत जग्गामा सार्वजनिक यातयातका साधनहरु पार्किङ गरिदै आईएको छ ।


तल्लो बजारको पछाडी पट्टी र छ्यारछ्यारेमा रहेको सार्वजनिक तथा निजी जग्गाहरुलाई व्यवस्थापन गरि तत्कालै बसपार्कलाई व्यवस्थित गर्नुपर्ने स्थानीयको भनाई छ । बसपार्क व्यवस्थित नहुँदा सवारी साधनका चालक, यात्रु तथा पैदलयात्रुहरु संगै स्थानीयलाई समेत आवत जावतमा समस्यामा देखिएको छ ।

अहिले पार्किङ गरि राख्ने ठाउँको अभाबमा सडकमै पार्किङ गर्नुपर्ने, आलोपालो गरि पार्किङ गर्नुपर्ने, अर्को सवारी साधन आएमा ठाउँ छाडी अन्यत्रै लैजानुपर्ने जस्ता समस्याले सार्वजनिक सवारी साधन चालकहरु समस्यामा परेको जिप चालक विकास पुनले बताए । दरबाङदेखि मालिका र धौलागिरी गाउँपालिकाको दर्जनौँ गाउँ र बागलुङको तमान लामेला संगै बेनी, पोखरा र काठमाण्डौको लागि समेत सवारी साधनहरु छुट्ने भएकाले पछिल्लो समय यस क्षेत्रमा सवारी साधनहरुको चाप उच्च रहेको छ । सडक खुल्ने र लामो दुरीको सवारी साधन दरबाङबाटै छुट्ने भएकाले समेत यातयात क्षेत्रमा लगानी बढीरहेको छ ।


दरबाङ बजार भित्रको सडक साँघुरो हुनु र बसपार्क समेत नहुँदा व्यवसायिहरु समेत समस्यामा परेका छन् । बेनी हुँदै सामान आयात गर्ने व्यवसायिकहरुले सवारी साधन मार्फत सामान भण्डारण गर्दा लामो समयसम्म सडकमै ठुला मालबहाक ट्रकहरु राखिराख्नुपर्ने बाध्यताले अन्य सार्वजनिक यातयात प्रभावित हुने गरेको छ ।
सडक साँघुरो हुँदा सामान लोड र अनलोड गर्दा समस्या हुने गरेको दरबाङ स्थित सन्तोष हार्डवेयरका विलभ गुरुङले बताए । दरबाङमा शहरीकरणको क्रम बढ्दो क्रममा रहेपनि बसपार्कको अभाबले होटल व्यवसायिहरु समेत समस्यामा छन् । पर्यटकहरु चढेर आउने सवारी साधनहरु समेत पार्किङ गर्ने सुविधा नहुँदा यत्रयत्र सडकमै पार्किङ गरि राख्नुपर्ने बाध्यता रहेको छ ।

सर्वसाधारण र सवारी साधनको आवत जावत बढ्दै गएको सन्दर्भमा दरबाङ बजार क्षेत्रमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनालाई समेत प्राथमिकता दिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘‘ गुरुयोजना नै तयार गरि बसपार्क निर्माणलाई अगाडी बढाउने योजना छ, बसपार्कलाई व्यवस्थि तगर्ने बिषयमा यातयात व्यवसायि, स्थानीय बासिन्दा र सरोकारवालासंग छलफल समेत गरेका छौँ’’– गाउँपालिका अध्यक्ष रोकाले भने ।

उनका अनुसार, दशै तिहारलाई लक्षित गरेर अहिले गाउँपालिका अगाडी रहेको बसपार्कबाट सवारीसाधन छुट्ने र अर्को स्थानमा सुरक्षित पाकिङको ब्यवस्था मिलाएर तत्काललाई सवारी साधनको अस्तव्यस्ततालाई खुकुल्लो बनाउने योजना गाउँपालिकाले बनाएको छ । उनले बसपार्क सहितको यातयात क्षेत्रको लागि गाउँपालिको समेत बजेट विनियोजन गरेको बताउँदै त्यसमा स्थानीय सरोकारवालाबाट रचनात्मक सहयोगको अपेक्षा गाउँपालिकाले गरेको बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l