सर्वाधिक पुरस्कार राशीको बौद्ध कप फुटवलको तयारी अन्तिम चरणमा

  • २९ भाद्र २०७४, बिहीबार
  • धिरन खत्री
  • 3996 पटक पढिएको

म्याग्दी,२९ भदौँ । म्याग्दी सदरमुकाम बेनीमा हुन लागेको तेस्रो बौद्ध कप फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । बौद्ध युवा क्लब मंगलाघाटको आयोजनामा आगामी असोज १ गतेदेखि ५ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो ।


प्रतियोगिताको लागि खेलमैदान व्यवस्थापन, आर्थिक संकलन, प्रचार प्रसार लगायतको तयारीलाई तिब्र पारिएको प्रतियोगिताका मुल संयोजक सचिन शाक्यले जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको अधिकाँश तयारी पुरा भएको समेत बताउनुभयो । प्रतियोगिता सञ्चालनको लागि खुलामञ्चमा रहेका ढुंगामाटोलाई समेत आयोजक क्लब र सह–आयोजक मंगला आमा समुहद्धारा सरसफाई गरिएको क्लबका अध्यक्ष बिजय किसानले जानकारी दिनुभयो । त्यस्तै क्लबले प्रतियोगिताको उद्घाटन कार्यक्रममा बेनीको लभ्लिहिलबाट प्याराग्लाईडिङ मार्फत पुष्पवक्ष गर्ने कार्यक्रमको लागि समेत सम्भाव्यता अध्ययन थालेको छ ।


बिजया दशमीको अबसरमा आयोजित सो प्रतियोगितामा धौलागिरीमै सर्वाधिक पुरस्कार राशी राखिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा उपबिजेता हुने टिमलाई नगद रु ७० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ भने सेमिफाईनलबाट बाहिरिने टिमलाई नगद रु १५ हजार र अनुशासित टिमलाई नगद रु १० हजार सहित ट्रफि र प्रमाणपत्रद्धारा सम्मान गरिनेछ ।


त्यसैगरि सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, स्ट्राइकर, मिडफिल्डर, डिफेन्डरलाई समेत जनही रु ६ हजार सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिने उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनको लागि रु ३० लाख २२ हजार आम्दानी र रु २५ लाख ६५ हजार खर्च हुने अनुमान गरिएको क्लबले अनुमान गरेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l