म्याग्दीका साना व्यवसायीबाट करिब २४ लाख कर संकलन

  • १७ भाद्र २०७४, शनिबार
  • 2277 पटक पढिएको

बेनी १७ भदौ । म्याग्दीका साना व्यवसायीहरुबाट दुई दिनको अवधिमा करिब चौबिस लाख रुपैया राजस्व संकलन भएको छ । आन्तरीक राजस्व कार्यालय पोखरा र म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा सञ्चालन गरेको घुम्ती कर संकलन शिवीरमा सो बराबरको राजस्व संकलन भएको हो । शुक्रबार र शनिबार बेनीमा कर संकलन शिवीर सञ्चालन भएको थियो । ९६३ जना व्यवसायीबाट आय र घरबाहल कर वापत २३ लाख ८४ हजार ६५ रुपैया राजस्व संकलन भएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो ।

वार्षिक बिस लाख रुपैया भन्दा कमको कारोबार र दुई लाख रुपैयासम्म आम्दानी गर्ने व्यवसायीहरुको सुबिधाका लागि शिवीर सञ्चालन गरिएको थियो । उनीहरुले कर तिर्नुका साथै वार्षिक आम्दानी विवरण बुझाएका थिए । बेनी नगरपालीका क्षेत्रका व्यवसायीले दुई हजार पाँच सय र गाउँपालीकाकाले एक हजार पाँच सय रुपैयाका दरले वार्षिक आयकर तिरेका हुन् ।

कर अधिकृत वुद्धीराम बस्यालको नेतृत्वमा कार्यालयका ६ जनाको टोली कर संकलनका लागि बेनी आएको थियो । बेनीबजारका साथै दरबाङ, बावियाचौर, सिँगातातोपानी, गलेश्वर, भुरुङतातोपानी क्षेत्रका व्यवसायीले कर बुझाएका हुन् । आन्तरिक राजश्व कार्यालयका अनुसार, म्याग्दीमा साना ठुला गरि तीन हजार करदाता छन् ।

कर तिर्ने रकमभन्दा बढी खर्च गरेर एक दिन पुरै लगाएर पोखरा पुगेर कर तिर्नुपर्ने साना व्यवसायीको समस्यालाई समाधानका लागि बेनीमा कर तिर्ने व्यवस्था मिलाइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले बताउनुभयो ।

राजश्व कार्यालयले म्याग्दी उद्योग वाणिज्य संघसँग सहकार्य गरेर हरेक बर्ष यस्तै किसिमको कर संकलन शिविर सञ्चालन गर्दै आएको छ । छुटेका व्यवसायीलाई पनि कर तिर्नका लागि समन्वय गर्ने संघले जनाएको छ । भ्याटमा दर्ता भएका व्यवसायी र संघ संस्थाले भने पोखरानै गएर कर तिर्दै आएका छन् ।