परमाणु हतियार वृद्धि गर्नुपर्छ : ट्रम्प

  • १६ फाल्गुन २०७३, सोमबार
  • 1597 पटक पढिएको

s3.reutersmedia.net-23022017021228-1000x0

फाल्गुन १६, २०७३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले परमाणु हतियार विस्तार गर्न चाहेको बताएका छन् । कार्यभार सम्हालेपछि पहिलोपटक ट्रम्पले परमाणु हतियारका विषयमा टिप्पणी गरेका हुन् ।

कुनै पनि देशसंग परमाणु हतियार नभए उत्तम हुने उल्लेख गर्दै ट्रम्पले अन्यथा अमेरिका त्यसको शीर्ष स्थानमा हुनुपर्ने बताए । समाचार समिति रोयटर्ससंग कुरा गर्दै उनले विगतमा भन्दा अमेरिका परमाणु हतियार क्षमतामा पछि परेको उल्लेख गरे ।

आलोचकहरुका अनुसार परमाणु आक्रमण गर्न अमेरिका र रुससंग आवश्यकभन्दा बढी हतियार छन् । हतियार नियन्त्रणसम्बन्धी एक अमेरिकी संस्थाका अनुसार अमेरिकासंग ६ हजार ८ सय र रुससंग ७ हजार परमाणु हतियार छन् ।

राष्ट्रपति निर्वाचनको केही सातापछि नै ट्रम्पले टवट गर्दै अमेरिकाले आफ्नो परमाणु क्षमतालाई मजबूत बनाउनुपर्ने बताएका थिए । ट्रम्पको पछिल्लो अभिव्यक्तिको आलोचना गर्दै उक्त अमेरिकी संस्थाले विज्ञप्तिमार्फत् भनेको छ, ‘ट्रम्पको अभिव्यक्तिले फेरि एकपटक उनी परमाणु हतियारका विषयमा गलत रुपमा सूचित भएको देखिएको छ र परमाणु हतियारको खतराका बारेमा उनको कमजोर बुझाई रहेको छ ।’