कोबाङमा थकाली समुदायको फालो पर्व सुरु

  • १३ भाद्र २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 4766 पटक पढिएको

कोवाङ(मुस्ताङ¬) १३ भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) मंगलबारदेखि सुरु भएको छ ।थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । फालो पर्वको थासाङ गाउँपालीकाका अध्यक्ष वुद्धीप्रसाद शेरचनले उद्घाटन गर्नुभएको थियो ।

गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका ५ देखि १३ वर्ष मुनीका छेवार गरिसकेका कुमारहरुलाई कुमार यात्रामा सहभागी गराउने चलन रहेको थाक क्षेत्रका संरक्षक हेमन्त गौचनले बताउनुभयो ।उहाँका अनुसार चारचनमा जन्मिएका छोराहरु कुमारयात्रा (स्योपेन)मा सहभागी भएपछि भगवान नरिच्हेबको आर्शीवादले जिवनका लागि सक्षम र योग्य भएको सांस्कृतीक मान्यता पाउँछन् ।

परापुर्व कालमा जंगलमा शिकार खेल्न गएका थकाली समुदायका युवाहरुले मृगलाई मार्न खोज्दा नरिच्योहब देवता प्रकट भई नर्साङ भन्ने ठाउँमा लैजाने अनुरोध गरेअनुसार सो स्थानमा गुम्बा बनाई राखे पश्चात गाउँमा अनिष्ट नहोस भनेर पुजाआजा गर्ने र थकाली पुरुषहरुले चुडा कर्म गरेपछि १३ वर्ष नपुग्दै अनिवार्य कुमारयात्रामा सहभागि हुने चलनको सुरुवात भएको स्थानीय अगुवाहरुको भनाई छ ।

स्योपेनमा सहभागी कुमारहरुले टुकुचेको चोकोपानीमा स्नान गरेर नर्साङ गुम्बामा नरिच्योहेब देवताको पुजाआजा गर्ने, आफन्तजनबाट आर्शिवाद लिने, देवताहरुको पुजाआजा गर्ने र थकाली भाषामा गित गाउँदै बाजागाजा सहित गाउँ परिक्रमा गरेर लार्जुङमा पुगेपछि घोडा चढेर राक्षसको चित्रलाई तिर हान्ने चलन छ ।

कुमार यात्रामा सहभागी हुन देश, बिदेशबाट थकाली कुमारहरु कोवाङमा आएका छन् । १३ वर्षीया छोरालाई स्योपेनमा सहभागी गराउन अमेरीकाबाट आएका मनोज भट्टचनले परम्परालाई निरन्तरता दिन फालोमा सहभागी भएको बताउनुभयो ।कुमारहरु थकाली भाषाको गित गाएर थकाली पहिरनमा सजिएर नाचगानका साथै लामाहरुले कोतघरमा पुजाआजा गर्छन् । तिन दिनसम्म यो पर्व मनाउने चलन छ । फालोको पहिलो दिन कोवाङका छ गाउँले सांस्कृतीक झाँकी प्रर्दशन गरेका थिए ।

फालो पर्व सञ्चालन गर्नका लागि थकाली सेवा समितिले स्थापना गरेको अक्षयकोषबाट थाक सात सय मुखीयालाई आर्थिक सहयोग गरेको छ । अक्षयकोषको ब्याजबाट मुखीयालाई एक लाख ३१ ह्जार रुपैया सहयोग गरिएको समितिका अध्यक्ष कृष्णकुमारी शेरचनले बताउनुभयो ।परम्परागत सांस्कृतीलाई निरन्तरता दिनका लागि अक्षयकोषको ब्याजबाट फालो पर्व सञ्चालनका लागि सहयोग गर्ने व्यवस्था मिलाइएको समितिका महासचिव नरेशकुमार तुलाचनले बताउनुभयो ।

सन्तोष गौतम