नेयमारको स्थान लिन डेम्बेले बार्सिलोनामा

  • १३ भाद्र २०७४, मंगलवार
  • 1723 पटक पढिएको

बार्सिलोना । बार्सिलोनाले बोरुसिया डर्टमण्डका फरवार्ड ओमान डेम्बेलेलाई शुरुवाती ९.६८ करोड पाउण्डमा अनुबन्ध गरेको छ । यद्यपि, यो रकम १३.५ करोड पाउण्ड पुग्ने बताइएको छ ।

२० वर्षीय फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीले बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमाउसँग नुक्याम्पमा ५ वर्षे करारमा हस्ताक्षर गरेका हुन् ।योसँगै उनी विश्वकै दोस्रो महंगो खेलाडी बनेका छन् । यसअघि नेयमार विश्वकिर्तिमानी २० करोड पाउण्डमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेनसँग अनुबन्ध भएका थिए ।

बार्सिलोनाले डेम्बेलेको रिलिज क्लज ४० करोड युरो राखेको जानकारी दिएको छ ।करारपछि डेम्बेलेले भने, ‘म यहाँ आउँदा निकै खुसी छु । यस क्लबबाट खेल्ने मेरो सपना थियो । र, यहाँ आएपछि म निकै हर्षित छु । यो विश्वकै उत्कृष्ट क्लब हो । यहाँ विश्कै उत्कृष्ट खेलाडीहरु रहेका छन् ।’

गत सिजन डर्टमण्डका लागि डेम्बेलेले ३२ खेल खेल्दै ६ गोल गर्नका साथै १२ गोलको अवसर सृजना गरेका थिए ।नेयमारले क्लब छाडेपछि दबाबमा रहेको बार्सिलोनाको बोर्डलाई डेम्बेलेको आगमनले केही राहत मिलेको छ ।