विपन्न परिवारकी पाईजाको उपचारमा हङकङबाट रु ४ लाख बढी सहयोग

  • १२ भाद्र २०७४, सोमबार
  • 2911 पटक पढिएको

म्याग्दी, ११ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पिडित पारमायाँ पाईजाको उपचारमा हङकङबाट रु ४ लाख बढी सहयोग जुटेको छ । हङकङमा रहेका म्याग्दीको पाखापानी र चिमखोलाबासीहरुको पहलमा संकलन भएको रु २ लाख १६ हजार ४१० पिडित पाईजालई उपलब्ध गराईएको छ । सो सहयोग समन्वयकर्ता हिरा बहादुर थापा मार्फत उपचाररत पारमायाँ पाईजालाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै हङकङमा रहनुभएकी पात्लेखककी राममायाँ गर्वुजा (पाईजा)ले संकलन गर्नुभको रु २ लाख ५ हजार ३२० समेत पिडितलाई उपलब्ध गराईएको छ । पाईजाको उपचारार्थ हङकङबाट कुल रु ४ लाख २१ हजार ७३० सहयोग प्राप्त भएको हो । उपचारमा आर्थिक अभाब भएपछि जिवनरक्षाको लागि अस्पतालकै शैयाबाट सहयोगको याचना गरेको सम्बन्धमा म्याग्दी अनलाईन लगायतका सञ्चार माध्ययममा समाचार प्रकाशन तथा प्रशारण भएको थियो ।

आर्थिक अभाबले उपचार प्रभावित भएको जानकारी पाएपछि पाईजाको लागि आर्थिक सहयोग जुट्न जुटाएर उपलब्ध गराएको मोना हङकङका अध्यक्ष कर्ण पुनले बताउनुभयो । उहाँले सहयोगदाता सबैलाई धन्यबाद समेत ज्ञापन गर्नुभएको छ । यस अघि अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाईजाले रु २ लाख २८ हजार ४५ सहयोग जुटाएर पिडित पाईजाको उपचारमा सहयोग गर्नुभएको थियो । अमेरिकाको हर्सीमा खाना इन्डीयन विष्ट्रो रेष्टुरेन्ट सञ्चालन गर्नुभएका पाखापानी औलका पाईजाको पहलमा संकलन भएको सो सहयोग रकम उपचारमा आर्थिक अभाब झेलेकी पारमायाँलाई उपलब्ध गराईसकिएको छ ।

आन्द्राको क्यान्सरबाट पिडित भई भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचाररत पाईजाले आफ्नो उपचारमा सहयोग गर्नेहरुलाई धन्यबाद ज्ञापन गरेकी छिन् । बिगत दुई महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत पाईजाको आन्द्रामा घाउ भएर क्यान्सर भएको पुष्टि भएपनि आर्थिक अभाबले उपचार प्रभावित भएको थियो । दुई बर्षदेखि सो समस्याबाट पिडित भएपनि पोखराका विभिन्न अस्पतालहरुमा उपचार गर्दा अहिलेसम्म झण्डै साढे ५ लाख सकिइसकेको घरपरीवारको भनाई छ । कृषि पेसाबाट जिविकोपार्जन गर्दै आएका पाईजा परिवारले अहिलेसम्म कतिपय खर्च ऋण र सापट समेत गरेर जुटाएका छन् ।