अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा वेष्ट प्वाईन्ट बिजयी

  • ८ भाद्र २०७४, बिहीबार
  • 2113 पटक पढिएको

म्याग्दी, ८ भदौ । बेनीमा बिहिवार सम्पन्न अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा बेनी सामुदायिक माविलाई १ का विरुद्ध २ गोल गर्दै वेष्ट प्वाईन्ट आवासीय मावि बिजयी भएको हो ।

विभिन्न दश वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको बिजेता वेष्ट प्वाईन्टलाई रनिङ शिल्ड ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता बेनी सामुदायिकलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु नौ हजार पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै प्रतियोगितामा वेष्ट प्वाइन्टकै आस्था केसीले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारिन भने लिटल गार्डेन एकेडेमिले अनुशासित टिमको पुरस्कार प्राप्त गरेको प्रतियोगिताको मुल संयोजक तथा जिल्ला खेलकुद विकास समतिका सदस्य मनकुमारी विश्वकर्माले बताउनुभयो ।


कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्का, सुदीप रावल स्मृति कोषका अध्यक्ष सन्तोष रावल, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष दिपु श्रेष्ठ , जिल्ला भलिबल संघका अध्यक्ष रमेश श्रेष्ठ, मुल संयोजक विश्वकर्मा, मुकुन्द छन्त्याल, लगायतले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षता र कोषाध्यक्ष दिनेश केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई एक हजार पाँच सय तथा अनुशासीत टिमलाई दुई हजार पाँच सय रुपैया पुरुस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका क्रममा २०७४ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर पदक दिलाउने म्याग्देली खेलाडीहरुलाई सम्मान समेत गरिएको छ ।

सो अबसरमा आर्चरीका राज पुर्जा, बौद्धिक अपांगता स्रोत कक्षाकी खेलाडी कमला बरुवाल र बंगलादेशमा भएको कराँते प्रतियोगितामा स्वर्णपदक बिजेता चन्द्र बुढा, गौरब घर्तिमगर, मार्सल गर्वुजा र पज्वल शेरचनलाई सम्मानपत्र र दोसल्ला ओढाएर नगद सहित सम्मान गरिएको थियो ।