घलेम्दी जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सकियो (फोटो फिचर)

  • ५ भाद्र २०७४, सोमबार
  • कमल खत्री
  • 2679 पटक पढिएको

म्याग्दी, ५ भदौ । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालीका – ४ नारच्याङमा निर्माणाधिन घलेम्दीखोला जलविद्युत आयोजनाको सुरुङ निर्माण काम सकिएको छ । घलेम्दी हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमत्ताको आयोजनाको करिब १ हजार ७ सय मिटर लामो सुरुङ निर्माण कार्य आईतबार सकिएको हो ।

बाँधतर्फबाट ७ सय र आउटलेट (फोरवे) तर्फबाट १ हजार मिटर लामो खनिएको सुरुङ जोडिएपछि सुरुङ निर्माण कार्य सम्पन्न भएको घलेम्दी हाईड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले जानकारी दिनुभयो । जलविद्युत आयोजनामा सुरुङ निर्माण कार्यलाइ महत्वपूर्ण उपलब्धि मान्ने गरिन्छ ।

आईतवार हाईड्रोका अध्यक्ष सुवेदी, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमायाँ मगर सहित आयोजनाका प्रवद्धक तथा लगानीकर्ताहरुको उपस्थितिमा सुरुङमार्गमा जोडिन बाँकी रहेको दुई मिटर चट्टानलाई नेपाली सेना र प्रहरीको निगरानीमा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खोलिएको थियो । सुरुङमार्ग निर्माण भएसंगै आयोजनाको बाँधतर्फको पूर्वाधार निर्माण कार्यले थप गति लिने अध्यक्ष सुवेदीको भनाई छ ।

उहाँले सुरुङमार्ग हुदै बाँधतर्फ सामान ढुवानी गर्न सकिने भएकाले निर्माण कार्य थप सहज हुने बताउनुभयो । भौगोलिक रुपमा बिकटता रहेकाले यस अयोजनाको विद्युतगृह रहने निलगिरी खोलाको किनारसम्म सडक सञ्जाल पुगेपनि त्यहाँदेखि माथि आयोजनाको लागि आबश्यक पर्ने सामाग्रीहरु भने खच्चड, मानिस र तुईन मार्फत ढुवानी गरिँदै आईएको छ ।

अन्नपूर्ण हिमालको फेदीमा रहने बाँधबाट १७ सय मिटर सुरुङमार्ग हुँदै ल्याईने पानीलाई १६५ मिटर हेडबाट निलगिरी खोलाको बायाँतर्फको किनारमा रहेको विद्युतगृहमा खसालेर विद्यूत उत्पादन गरिनेछ । आयोजनाको बाँधतर्फ बालुवा थिग्राउने पोखरी निर्माण सम्पन्न भएको छ भने बाँधदेखि पोखरी सम्मको नहर निर्माण, विद्युतगृहको लागि निलगिरी खोलाको किनारमा रिटेनिङ पर्खाल निर्माण लगायतको कार्यले तिब्रता पाएको छ ।

वि.स २०७१ देखि सुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म पचहत्तर प्रतिशत पुरा भएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । म्याग्दीका उद्योगी, ब्यापारी र सर्वसाधारणको पहलमा निर्माण हुन लागेको यो आयोजनालाई २०७४ चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । ईलेक्ट्रोमेकानीकल उपकरण खरिद भैसकेको र केही समय पश्चाछ नै ढुवानीको काम सुरु हुने कम्पनीले जनाएको छ ।

स्थानीय बासिन्दाको अपन्त्व र सहयोगले काम गर्न सहज भएको आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताउनुभयो । रु ३५ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा लुम्बीनी र टुरीजम डेभलपमेण्ड बैङ्कले ५५ करोड रुपैया लगानी गरेका छन् । सो आयोजनाबाट उत्पाददन हुने विद्युतलाई नारच्याङकै घराप स्थित तातोपानी साना जलविद्युत आयोजनाको सब स्टेशन मार्फत केन्द्रिय प्रशारण लाईनमा जडान गर्ने योजना छ ।

अहिले आयोजनाको पूर्वाधार निर्माणको लागि स्थानीयलाई प्राथमिकताका साथ अबसर दिईएको र दैनिक दुई सय जनाको हाराहारीमा जनशक्ति परिचालन भएका कम्पनीका सचिव बिमल रिजालले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l