स्वास्थ्य मन्त्रालयबाट बेनी अस्पताललाई एम्बुलेन्स उपलब्ध

  • २ भाद्र २०७४, शुक्रबार
  • 2140 पटक पढिएको

म्याग्दी, २ भदौ । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट एम्बुलेन्स प्राप्त भएको छ । जिल्ला अस्पतालको मातहत सञ्चालन हुने गरि मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले शुक्रबारदेखि सेवा सुरु गरेको छ । सो एम्बुलेन्सको शुक्रवार पूर्व स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख राजनितिक सल्लाहकार प्रताप पौडेलले उद्घाटन गर्नुभएको छ ।

एम्बुलेन्स हस्तान्तरण गर्दै पौडेलले स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सलाई व्यवस्थित रुपमा सञ्चालनको लागि निर्देशीका तयार पारेको बताउँदै अब हरेक अञ्चल र जिल्ला अस्पतालहरुमा सुविधायुक्त एम्बुलेन्सहरु भित्रने बताउनुभयो ।

नयाँ एम्बुलेन्सबाट अस्पतालले रिफर गर्ने बिरामीलाई अन्यत्र लैजाने सहज हुने अपेक्षा गरिएको छ  अस्पतालको पुरानो एम्बुलेन्स बिग्रीएर सेवा दिन नसक्ने अबस्थामा पुगेको समयमा मन्त्रालयबाट प्राप्त नयाँ एम्बुलेन्सले विरामीहरुलाई रिफर गर्न सहयोग पुग्ने अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

बेनी अस्पतालका निमित्त प्रमुख डाक्टर अम्बालिका शाक्यको अध्यक्षता, नायव सुब्बा लिलानाथ पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अस्पताल विकास समितिका पदाधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।