तोरीपानी टिमुर गाउँको रुपमा विकास हुँदै, उत्पादित टिमुर अष्ट्रेलिया निकासी

  • १ भाद्र २०७४, बिहीबार
  • कमल खत्री
  • 6475 पटक पढिएको

म्याग्दी १ भदौ ।बेनी नगरपालिका–९ तोरिपानीका स्थानीय टिमुर खेतीतर्फ आकर्षित भएका छन् । टिमुरखेतीबाट अकर्षक कमाई हुने भएपछि कृषकहरु टिमुरको व्यवसायिक खेतीतर्फ लागेका हुन् । हावापानी समेत उपयुक्त रहेकाले तोरिपानी क्षेत्रमा गुणस्तरीय टिमुर उत्पादन हुदै आएको छ । मसलेदार टिमुरको माग बर्षेनी बढ्दै गएको छ । माग बढ्दै जाने र आम्दानी समेत आकर्षक हुन थालेपछि यस क्षेत्रका कृषकहरु टिमुरलाई व्यवसायिक बनाउने अभियानमा जुटेका हुन् ।

तोरीपानीसंगै डावा, काफलवोट, धुपिबोट, ढोलठान, नेप्टेचौर, गिठिनी लगायतका ठाउँमा व्यवसायिक टिमुर खेती गर्ने लहर चलेको स्थानीय युवा सुर्यप्रकाश (सागर) बानीयाँले बताउनुभयो । भुमेसिद्ध टिमुर कृषक समुहका अध्यक्ष समेत रहेका बानीयाँले टिमुरको महत्व बुझ्दै गएपछि स्थानीयले पाखोबारी संगै खेर गएको खेतियोग्य जमिनमा समेत टिमुर खेती थालेको बताउनुभयो । ६ सय गोटा टिमुरका विरुवा रोपेका बानियाँको हाल ९० गोटा बोटले फल दिदै आएको छ । उनले गत बर्ष ४२ केजी टिमुर प्रतिकेजी १५ सयका दरले विक्रि गरेका थिए । तोरीपानी क्षेत्रमा व्यक्तिगत १० हजार र सामुदायिक बनमा १० हजार गरि कुल २० हजार टिमुरका विरुवा रहेका छन् ।

अधिकाँश विरुवा नयाँ रोपण गरिएकाले फल दिने समय अझै भएको छैन् । यो बर्षदेखि तुसारेपानी महिला सामुदायिक बनले समेत बनको झाडी फाँडेर टिमुर खेती सुरु गरेका छन् । यस अघि घोर्लास र निलपहरा सामुदायिक बनले टिमुर खेतीलाई विस्तार गरिसकेका छन् । टिमुर खेतीलाई व्यवसायिक बनाउन दुई वटा सामुदायिक बन सहित २१ वटा समुहमा स्थानीय कृषक आबद्ध भएका छन् । अहिले तोरिपानीमा बार्षिक ५० देखि ६० लाखसम्मको टिमुर उत्पादन हुँदै आएको भुमेसिद्ध टिमुर कृषक समुहका अध्यक्ष बानियाँले बताए । उनका अनुसार आर्थिक बर्ष २०७३÷०७४ मा कुल ७१ मुरी टिमुर निकासी भएको छ । रु २० लाख मुल्य बराबरको टिमुर जिल्ला बाहिर निकासी भएको र बाँकी गाउँघरमै पुगेका स्थानीय व्यवायिहरुले खरिद गरेका थिए ।

खरिदका लागि घरदैलोमा पुगेका व्यवसायिले प्रतिपाथि रु १४ सय देखि १६ सय सम्ममा टिमुर खरिद गर्दै आएका छन् । यस क्षेत्रमा उत्पादन हुने टिमुर नेपालमा मात्रै नभएर बाहिरी मुलुकमा समेत निर्माण हुँदै आएको छ । यो बर्ष अष्टे«ेलियामा २० मुरी अर्थात ४ सय केजि टिमुर निर्यात भएको थियो । त्यस्तै पोखरामा १२ मुरी, जोमसोममा २४ मुरी र बेनीमा १० मुरी टिमुरी गाउँबाट निर्यात भएको थियो । टिमुरले स्थानीय स्तरमा मात्रै नभएर अन्र्तराष्ट्रिय स्तरमा समेत बजार पाउन थालेपछि यसलाई व्यवसायिकता बनाउने लहर चल्दै गएको हो ।

पहिले बनजंगलमा बार लगाउनको लागि टिमुर रोप्ने चलन रहेपनि यसको अन्र्तराष्ट्रिय बजार र महत्व बुझेपछि अहिले यस क्षेत्रका १५० भन्दा बढी घरधुरी टिमुर खेतीमा लागेका छन् । टिम्मुरलाई धेरै मेहनत पनि गर्नु नपर्ने र गाउँघरका जस्ता सुकै बाली कान्ला वा पाखोमा पनि हुने भएकाले यसप्रतिको आर्कषण बढेको स्थानीय कृषक ईब गिरीले बताए । राम्रो उत्पादन हुने बर्षमा एउटै बोटबाट १५ पाथीसम्म टिमुर संकलन गर्न सकिने कृषकहरुको भनाई छ । यो बर्षमा स्थानीय देवीभक्त रिजालको एउटा बोटमा मात्रै ३० हजार बराबरको टिमुर फलेको थियो ।

पहिले अन्नसँग साट्ने र न्युन रकममा बिक्री हुने टिमुरबाट अहिले कृषकहरुले आकर्षक आम्दानी गर्न थालेको गिरीको भनाई छ । नगद आम्दानी हुन थालेपछि सामुदायीक वन, खाली पाखो र उपयोगविहिन खेतबारीमा टिमुरका बोट लगाउन थालेपछि तोरीपानी क्षेत्र म्याग्दीमा सबैभन्दा धेरै टिमुर उत्पादन हुने ठाउँको रुपमा चिनिन थालेको हो । भुमेसिद्ध टिमुर समुहका अध्यक्ष बानियाँको नेतृत्वमा सरिवोट क्षेत्रमा सामुहिक रुपमा टिमुर खेती गर्ने तयारी समेत थालिएको छ ।

जडिवुटीको रुपमा समेत प्रयोग हुने मसलेदार खेती टिमुरको विस्तार र बजारीकरणका लागि म्याग्दी उद्योग वाणिज्य संघ, जिल्ला बन कार्यालय, लगायतका संघ संस्थाहरुले सहयोग गरेपछि स्थानीय कृषकहरु थप उत्साहित बनेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ मार्फत नेपाल सरकारको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरर्गत २०६८ सालदेखि घतान लगायतका क्षेत्रलाई समेटेर टिमुर खेतिलाई विस्तार र प्रवद्र्धनमा अभियान चलाईएको थियो ।

सो अभियान अन्र्तगत उद्योग बाणिज्य संघले विरुवा वितरणसंगै टिमुरको महत्वबारे स्थानीय स्तरमा जनचेतना अभिबृद्ध गर्ने, टिमुर टिप्ने औजार तथा उपकरणहरु उपलब्ध गराउने, कृषकहरुलाई आबश्यक तालिम तथा अन्र्तक्रिया जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । संघले गत बर्ष ३ लाख बराबरको टिमुर टिप्ने औजार, पाल, भ¥याङ लगायतका सामाग्री उपलब्ध गराएको थियो । हालै संघले ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा तोरीपानीका भुमेसिद्ध टिम्मुर सञ्जालमा आवद्ध कृषकलाई चार हजार बिरुवा खरिद गरी उपलब्ध गराइएको संघका बरिष्ट उपाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

टिम्मुरको उत्पादन वृद्धी गरी अन्तराष्ट्रिय बजारमा निकासी गर्ने उद्देश्यले खेती विस्तारमा सघाउँदै आएको संघले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत पछिल्लो पाँच वर्षयता तोरीपानीसंगै नारच्याङ र दग्नामका कृषकलाई १९ हजार ५०० बिरुवा वितरण गरिसकेको छ । यि ठाउँ बाहेक दाना, मराङ, डडुवा, पूर्णगाउँ, ताकम लगायतका क्षेत्रमा समेत टिमुर खेतीलाई व्यवसायिक बनाउन स्थानीय अग्रसर बनेका छन् ।

अचार र दालमा मसलाको रुपमा प्रयोग हुने मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिम्मुर सुगन्धीत तेल र औषधी बनाउन समेत प्रयोग हुन्छ । म्याग्दीमा उत्पादीत टिमुर जोमसोम, पोखरा, चितवन, काठमाडौको तारे होटलका साथै अस्टे«लीया, अमेरीका र जर्मनीमा निकासी हुने गरेको छ । यसैबिच टिमुर खेती विस्तार गर्ने अभियान चलेपछि विरुवाको माग समेत उच्च आउने गरेको छ । तोरीपानीमा सागर बानियाँ र गुमानसिंह बानियाँले टिमुर नर्सरी स्थापना गरेका छन् । गाउँमा मात्रै नभएर जिल्लाबाहिरबाट समेत माग आउने भएकाले विरुवा उत्पादनमा जोड दिएका हुन् । यो बर्ष बानियाँद्धयले अहिलेसम्म ४÷४ हजार विरुवा विक्रि गरिसकेका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l