लमजुङ क्याम्पसमा विद्यार्थीबीच झडप, प्रहरी सईको टाउकोमा चोट

  • १६ फाल्गुन २०७३, सोमबार
  • 1787 पटक पढिएको

455555900

काठमाडौं, १६ फागुन, काठमाडौं । फाल्गुन १६, २०७३- लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसमा सोमबार बिहान बिद्यार्थीबीच झडप भएको छ ।

अनेरास्ववियु समर्थित विद्यार्थी र नेविसंघसमर्थित विद्यार्थीबीच झडप हुँदा छुट्याउने क्रममा विद्यार्थीको प्रहारबाट सुन्दरबजार इलाका प्रहरी कार्यालयका सई होमनाथ अधिकारी घाइते भएको डीएसपी समीरचन्द्र खरेलले बताए । उनको स्थनीय कर्मदा अस्पतालमा उपचार भइरहेको छ । केही विद्यार्थी घाइते भएपनि उनीहरुको औपचारिक जानकारी नआएको प्रहरीले जनाएको छ ।

नेविसंघ समर्थित कम्तीमा ४ जना विद्यार्थी घाइते भएको र उनीहरुको स्थानीय कर्मदा अस्पतालमा उपचार भइरहेको नेविसंघ समर्थित विद्यार्थीहरुले बताएका छन् । अनेरास्ववियुका विद्यार्थीको आक्रमणबाट आफ्ना विद्यार्थी घाइते भएको नेविसंघका विद्यार्थीले बताएको छ ।

विद्यार्थीलाई झगडा नगर्न र वार्तामा आउन आग्रह गर्ने क्रममा क्याम्पस क्याम्पसबाहिरका ब्यक्तिले क्याम्पस प्रमुख डा. लालप्रसाद अंगाइँ र लेखा प्रमुख रामजी खड्कामाथि हातपात गरेको क्याम्पस प्रमुख अंगाइँले बताए । क्याम्पस प्रमुख र लेखाप्रमुखमाथि हातपात गर्नेमा कांग्रेस समर्थित स्थानीय नेताकार्यकर्ता रहेको क्याम्पस स्रोतले बताएको छ । डीएसपी खरेलले कुन पक्षकाले आक्रमण गरेको भन्ने विषयमा छानविनपछिमात्रै थाह हुने बताए ।

गत माघ १७ गते राती नेबिसंघद्वारा गरिएको होस्टेल आक्रमणको विषयमा छानबिन समितिले १५ दिन भित्र बुझाउनु पर्ने प्रतिवेदनलाई क्याम्पसले सार्वजनिक नगरेको भन्दै अनेरास्ववियु समर्थित विद्यार्थीले आइतबार क्याम्पसमा तालाबन्दी गरेका थिए । नेविसंघले त्यही ताला फोड्ने क्रममा दुई विद्यार्थीबीच सोमबार बिहान झडप भएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सुरुमा इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रहरी खटिएकोमा त्यसपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय भोटेओडारबाट इन्सपेक्टरको नेतृत्वमा टोली परिचालन गरिएको र थप सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टरकै कमाण्डमा टोली खटाएको बताए । प्रहरीले स्थिति नियन्त्रणमा लिएको र थप घटना हुन नदिन प्रहरी परिचालन गरिएको प्रजिअ जिसीले बताए ।

गत माघ १७ गते राति हातहतियार सहित क्याम्पसबाहिर बस्ने नेविसंघका विद्यार्थी होस्टेलभित्र प्रवेश गरी अनेरास्ववियुका पूर्वउपाध्यक्ष महेन्द्रसिंह धामीलाई घाइते बनाएको अनेरास्ववियुले जनाएको छ । मदिरा सेवन गरी भित्र प्रवेश गरेका विद्यार्थीले होस्टलेभित्र बस्ने विद्यार्थीका ल्याटप, मोबाइल तथा पुस्तकमा क्षति पुर्‍याएको क्याम्पसले जनाएको छ ।

यसपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकबाट छानबिन समिति गठन गरी १५ दिनभित्र प्रतिबेदन सर्बजनिक गर्ने भनिएकोमा छिटो सार्वजनिक गर्न र दोषीलाई कारबाही माग गर्दै क्याम्पसलमा तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ । क्याम्पसमा घटेको घटनाका कारण स्ववियु निर्वाचन कार्यतालिका प्रभावित भएको क्याम्पसले जनाएको छ ।