एमाले राष्ट्रघाती : गृहमन्त्री

  • १६ फाल्गुन २०७३, सोमबार
  • 1885 पटक पढिएको

काठमाडौं, १६ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसबाट एमालेलाई बढार्ने गरी प्रचार अभियानमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्। ‘कोर’ मधेसबाट चुनावी अभियान सुरु गर्न आयोजित कार्यक्रममा कांग्रेस नेता निधिले एमालेले राष्ट्रघाती काम गरिरहेको आरोप लगाउँदै त्यसैलाई गाउँगाउँ प्रचारमा लाग्न अह्राए।

पार्टीको भगिनी संगठन महिला संघ, सिरहाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण उद्घाटन गर्न हेलिकप्टर चढेर आएका गृहमन्त्री निधिले मन्तव्यको अधिकतर समय एमालेको विरोधमा खर्चिएका थिए। सरकारले मधेस, पहाड र हिमाल मिलाउने किसिमबाट अघि बढाएको संविधान संशोधन प्रस्तावको विरोध गरेर एमालेले राष्ट्रघाती काम गरिरहेको आरोपसमेत लगाए। ‘भाषा, प्रतिनिधित्व, सीमांकन र अंगीकृत नागरिकता यी चार विषयमा संशोधन अघि बढाइएको छ’, उनले भने, ‘जति छिटो संशोधन पारित हुन्छ, त्यति छिटो चुनावको माहोलले गति लिन्छ।’

संशोधन मधेस मात्र नभई देशकै हितमा भएको दाबी गर्दै उनले भने, ‘एमाले यसको विरोधमा गए हामी मिलेर भण्डाफोर गर्छौ।’ मधेसी आदिवासीका माग सम्बोधन गर्ने किसिमबाट मधेसी दलकै सहमतिमा दर्ता भएको संशोधन पारित भए देशमा सम्पूर्ण रुपले चुनावको माहोल बन्ने निधिको धारणा थियो।

‘संविधान कार्यान्वयनमा मधेसीको सहभागिता महŒवपूर्ण अर्थ राख्छ, जसका लागि उहाँहरु पनि सहभागी हुने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘संशोधन पारित गर्न असहयोग गरे जनस्तरबाटै भण्डाभोर गरी एमालेलाई किनारा लगाउनुपर्छ।’

अधिकांश समय एमालेको विरोधमा खर्चेका मन्त्री निधिले भने, ‘एमाले संविधान कार्यान्वयनविरोधी हो, संघीयताविरोधी हो, एमाले मधेस र मधेसीको विरोधी हो।’ महिला कांगेे्रस सहभागीलाई निर्देश गर्दै उनले थपे, ‘एमालेविरुद्ध मधेस र मधेसीविरोधी भएको नाराका साथ मधेसका गाउँगाउँमा प्रचार थाल्नुस्।’

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै नेपाली कांगे्रसले ‘कोर’ मधेस लहानबाट चुनावी प्रशिक्षण भेला सुरु गरेको हो। महिला संघको प्रदेश नम्बर २ स्तरीय भेलामार्फत आठ जिल्लाका महिलालाई चुनावी प्रशिक्षण आइतबार सुरु भएको हो।

कार्यक्रममा सप्तरी कांग्रेस सभापति दिनेेश यादवले मधेसमा स्थानीय तहको सिट संख्या बढाउनुपर्नेमा जोड दिए। उनले मधेस मुद्दा सम्बोधन नगरी हुने स्थानीय तह निर्वाचन अशान्त हुनेतर्फ गृहमन्त्री निधिलाई सचेत गराएका थिए। सिरहा काग्रेस सभापति रामचन्द्र यादवले स्थानीय तहमा गाउँपालिकाको संख्या घटाइएको प्रति असन्तुष्टि जनाउँदै सिट संख्या बढाउन माग गरे।

नेपाली कांगे्रसका सांसद महेन्द्र यादवले एमालेप्रति आक्रोश पोख्दै भने, ‘संशोधनको पक्षमा एमालेले मतदान नगरे मधेसबाट लखेटिन्छ।’ उनले थपे, ‘सुनसरीमा फेटा बाँधेर एमाले अध्यक्ष केपी ओली भाषण गर्दा मोर्चाका नेताले किन प्रतिक्रिया जनाएनन्?’

मधेसका पक्षमा संसद्मा अगाडि बढाइएको संशोधन प्रस्तावको विरोध गर्ने एमालेलाई भण्डाफोर गरेर मधेसबाट लखेट्नुपर्ने यादवको अभिव्यति्क थियो। ‘संशोधनको विपक्षमा उभिए एमालेमुक्त मधेसको पक्षमा अभियान तीव्र बनाउनुपर्छ,’ उनले भने।