उत्तर कोरियाप्रति अमेरिका लचक, कूटनीतिक पहल खोजिँदै

  • २८ श्रावण २०७४, शनिबार
  • 1931 पटक पढिएको

न्युयोर्क- अमेरिकाले उत्तर कोरियासँगको विवाद समाधान गर्न अझै कूटनीतिक पहल गरिरहेको जनाएको छ । रक्षा सचिव जेम्स म्याटिस्ले अमेरिकाले अझै कूटनीतिक पहल गरिरहेको बताएका छन् । सम्बन्ध सुधारका लागि विनाशकारीभन्दा कूटनीतिक बाटो अपनाउनुमै विश्वको भलाई रहेको म्याटिस्को दाबी छ ।

उत्तर कोरियाले भने अमेरिकी सैनिक अखडा गुआमलाई निशाना बनाएर क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको थियो । उत्तर कोरियालाई जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व नै हल्लाउने प्रहार गर्ने बताएका थिए ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले अमेरिकासँग बदलाको भावना राखे उसले ठूलै अत्यासपूर्ण स्थितिको सामना गनुपर्ने बताएका थिए ।
उत्तर कोरियाले अन्तर महादेशीय व्यालेस्टिक मिसाइल परीक्षण गरेपश्चात् गत जुनदेखि दुई देशबीचको सम्बन्ध थप चुनौतीपूर्ण बनेको छ ।

अमेरिकाको आग्रहमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी लगाइसकेको छ । अमेरिकाले संयुक्त राष्ट्रसंघको मूल्यमान्यताको पालना र विश्व शान्तिमा खलल् पर्न नदिनका लागि अझै पनि कूटनीतिक तवरबाट समाधानको बाटो खोज्न चाहेको म्याटिस्ले अमेरिकाको क्यालिफोर्निया राज्यमा आयोजित एक कार्यक्रममा बताए ।

अमेरिकाले उत्तर कोरिया भ्रमणका लागि आफ्ना नागरिकहरूमाथि बन्देज लगाइसकेको छ ।

-नागरिक