केन्द्र बिवाद समाधानका लागि भएको सहमतीको प्र्रयास बिफल

  • २४ श्रावण २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 2661 पटक पढिएको

बेनी २४ साउन । म्याग्दीको धौलागिरी गाउँपालीकाको केन्द्र बिवाद सहमतीबाट समाधान गर्ने प्रयास सफल हुन सकेको छैन् । दुई दिनसम्म औपचारीक र त्यसअघि पटक पटक भएको सहमतीको प्रयास सफल नभएपछि स्थाई केन्द्र कहाँ कायम गर्ने भन्ने विषयमा छलफल गर्न मंगलबार अपराहन्न देखि गाउँसभाका सदस्यहरुको बैठक सुरु भएको छ ।

सोमबार सुरु भएको जनप्रतिनिधि र प्रत्येक वडाबाट राजनितिक दलका ३ र अगुवाको तर्फबाट २ गरी पाँच जना आमन्त्रीत सदस्यहरुको सहभागीतामा मुनामा भएको छलफलमा स्थाई केन्द्र कहाँ कायम गर्ने भन्ने विषयमा मंगलबार दिउँसोसम्म निर्णय दिन नसकेपछि जनप्रतिनिधिहरुको मात्र बैठक सुरु भएको हो ।

बृहत छलफलमा सहमती जुट्न नसकेपछि मंगलबार अपराहन्नदेखि गाउँसभाका सदस्यहरुको उपस्थितीमा मात्र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको वडा न. ६ का अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।हाल अस्थाई केन्द्र रहेको वडा न. ३ मुना र वडा न. ७ ताकम मध्य कहाँ केन्द्र राख्ने भन्ने विषयमा राज्य पुनसंरचनासंगै बिवाद उत्पन्न भएको थियो । छलफलमा सहभागी मुनाका प्रतिनिधिले केन्द्रमा पर्ने र पिछडीएको बस्तीको विकासका लागि मुना केन्द्र कायम गर्नुपर्ने आधार प्रस्तुत गरेका थिए ।

ताकमका प्रतिनिधिले पर्याप्त पूर्वाधार र राज्य पुनसंरचनाका ५ मध्य ४ वटा आधार मिल्ने भएकाले ताकममा केन्द्र बताउनुपर्ने बताएका थिए । लुलाङका प्रतिनिधिले मुना तथा मल्कवाङका प्रतिनिधिले ताकमको पक्षमा कुरा राखेका थिए भने गुर्जा, मुदी र मराङका प्रतिनिधिले सहमतीमा जहाँ केन्द्र राखेपनी आफूहरुलाई मान्य हुने बताएका थिए ।

ताकम र मुनाका प्रतिनिधि एक अर्को ठाउँमा सहमत हुन नसकेपछि बिचमा पर्ने शिवाङ, मच्छिम, सोलवाङको विकल्पमा छलफल भएपनी सहमती जुट्न नसकेको हो । छलफल सुरुहुनुअघि गाउँपालीका अध्यक्ष थमसरा पुनले सहमतीमा स्थाई केन्द्र कायम गरि गाउँपालीकालाई सम्बृद्ध र विकसीत बनाउन सहज वातावरण बनाउन आव्हान गर्नुभएको थियो ।
सहमती जुट्न नसकेपछि गाउँसभाले मतदानद्धारा बहुमतको आधारमा केन्द्र तोक्ने विकल्प रहेको छ । केन्द्रको बिवाद भएको अवस्थामा स्थानीय तहको निर्वाचन भएको ६ महिनाभित्र गाउँसभाले स्थाई केन्द्र तोक्न सक्ने व्यवस्था छ । राज्य पुनसंरचनाको क्रममा जिल्ला स्तरीय समितिले धौलागिरीको केन्द्र ताकममुना मध्य कुनै एक ठाउँ कायम गर्न सिफारीस गरेको थियो । पुनसंरचना आयोगले मुनामा अस्थाई केन्द्र कायम गरेको थियो ।

 

सन्तोष गौतम