भूसंरक्षण दिवसको अबसरमा वृक्षरोपण

  • २४ श्रावण २०७४, मंगलवार
  • 2525 पटक पढिएको

म्याग्दी, २४ साउन । ४४ औँ भूसंरक्षण दिवस मंगलवार म्याग्दीमा पनि बृक्षरोपण गरि मनाईएको छ । जिल्ला भूसंरक्षण कार्यालय, म्याग्दीको आयोजनामा “ संघियतामा जलाधार, दिगो बिकासको आधार “ भन्ने नाराका साथ ४४औं भूसंक्षण दिवस मनाईएको हो । दिवसको बसरमा बेनी– बगरफाँट– बरंजा जाने सडक अन्र्तगत हाँडेभिर नजीकैको शान्तिमिलन सामुदायिक बन उपभोत्ता समितिको खाली स्थानमा बिरुवा रोपण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी लगायत बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल सहित जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले विरुवा रोपण गरेका थिए ।

सडक फराकिलो बनाउने क्रममा फालिएको माटोलाई रोक्न तथा खालि ठाउँलाई हराभरा बनाउनको लागि करिब ३ सय विभिन्न प्रजातिका विरुवा रोपण गरिएको जिल्ला भूसंरक्षण अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।


उहाँका अनुसार, सिसौ, बकाईनो, पैयुँ, कल्कीफुल लगायतका विरुवा रोपण गरिएको छ । विरुवा रोपण कार्यक्रममा जिल्ला भूसंरक्षण अधिकृत पौडेलले म्याग्दीको भूक्षय तथा प्राकृतिक प्रकोपको खतरा तथा रोकथामको लागि गर्नुपर्ने उपायहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

सो क्रममा जिल्ला मालपोत कार्यालय अगाडीको परिसरमा समेत विभिन्न प्रजातिका फुलका विरुवाहरु रोपण गरिएको थियो । जिल्ला मालपोत कार्यालय, श्रीबक्स गुल्म अर्थुङ्गे र शान्तिमिलन सामुदायिक बनेको सहकार्यमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा जिल्ला स्थित राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।