खेलकुद मन्त्री केसीले भने एक तह एक खेलकुद मैदान निर्माणमा सरकार प्रतिवद्ध छ

  • २३ श्रावण २०७४, सोमबार
  • 1703 पटक पढिएको

पर्वत २३ साउन । युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले एक स्थानिय तह एक खेलकुद मैदान विस्तार गर्ने अभियानलाई तिब्रता दिएको बताउनुभयो । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा सोमवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले खेल मैदानको अभावमा पछिल्लो समय युवाहरु खेल क्षेत्रबाट पलायन हुने क्रम बढेको बताउँदै उहाँले खेल क्षेत्रको विकासका लागि सरकार दृढ रहेको बताउनुभयो । उहाँले प्रत्येक नगरपालिका र गाउँपालिकाले समेत युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा निति कार्यक्रम बनाउन आफुले आग्रह गरेको बताउँदै यसवाट तल्लो तहमा रहेका खेलाडी र युवाहरु लाभान्वित हुने बताउनुभयो ।


मन्त्री केसीले पर्वत जिल्लाका सवै तहमा एक एक वटा खेल मैदान विस्तारका लागि स्थानिय तहसँग सहकार्य गरेर आफुले बजेट बिनीयोजन गरिदिने आश्वासन समेत दिनुभयो । सो अवसरमा बोल्दै स्थानिय तहको चुनावमा नेपाली काँग्रेसलाई दशा लागेको बताउनुभयो । उहाँले पार्टीले पहिलो स्थान हासिल गर्न नसकेपनि सम्मानजनक स्थान प्राप्त गरेको बताउँदै प्रदेश नं. २ को निर्वाचनबाट क्षतिपुर्ति भराउने ठोकुवा गर्नुभयो । उहाँले प्रदेश नं.२ को चुनावमा नेपाली काँग्रेसले बहुमत प्राप्त गर्ने समेत दावी गर्नुभयो । मन्त्री केसीले आगामी माघ ७ गतेभित्र दुई वटा चुनाव सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताउँदै ती निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो दल बनाउन सवै कार्यकर्ताहरु सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

मन्त्री केसीले लोकतन्त्रप्रतिको लडाई सकिएको बताउँदै अबको पालो भनेको आर्थिक समृद्धिको भएको बताउनुभयो । उहाँले एक अर्काबीच आरोप प्रत्यारोप र दोषारोपण भन्दा पनि आर्थिक विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।
मन्त्री केसीले निर्वाचित जनप्रतिनिधिहरुको प्रत्येक सकारात्मक गतिविधिले मात्र पार्टी बलियो हुने बताउँदै जनमुखि काम गर्न समेत आग्रह गर्नुभएको छ । आफु पहिलो संविधान सभा चुनाबमा माओवादी अध्यक्षसँग पराजीत भएको र दोस्रो पटक आफ्नो क्रियाशिलता र जनमुखि कामका कारण प्रचण्डलाई पराजित गर्न सफल भएको उदाहारण समेत दिनुभएको थियो ।  News source : www.24sanchar.com