धौलागिरी आधार शिविरमा थुप्रिएको फोहोर हटाउन सरोकारवालाको उदासिनता

  • २३ श्रावण २०७४, सोमबार
  • कमल खत्री
  • 3361 पटक पढिएको

 

म्याग्दी, २३ साउन । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउन सरोकारवालाहरु उदासिन बनेका छन् । चक्रिय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि रुपमा फोहोर फ्याँक्दै आएपनि अहिलेसम्म जिल्ला स्थित कुनै पनि सरोकारवाला निकायले त्यसतर्फ चासो दिएका छैनन् ।


फोहोर व्यवस्थापन हुन नसक्दा आधार शिविर क्षेत्र प्रदुषणको चपेटामा परेपछि मुदीको बगरमा रहेको राउण्ड धौलागिरी युवा क्लबले फोहोर हटाउनको लागि सरोकारवालाको ध्यानकर्षण गराएपनि त्यसतर्फ कसैले चासो नदिएको जनाएको छ । बर्षौदेखि थुप्रिएको फोहोर हटाउन र व्यवस्थापन गर्न धौलागिरी गाउँपालिका कार्यालय र बेनी स्थित जिल्ला समन्वय समितिमा लिखित र मौखिक रुपमा आग्रह गरेपनि कुनै सुनुवाई नभएको क्लबका अध्यक्ष डिल पुनले बताउनुभयो ।


उहाँले क्लबले निरन्तर ताकेता गर्दा समेत पर्यटकहरु लिएर गएका ट्रेकिङ तथा आरोही कम्पनीहरुका गाईडहरुले आधार शिविर क्षेत्रमा सहित तवरले फोहोर व्यवस्थापनमा आनाकानी गर्दै आएका छन् । आधार शिविर क्षेत्रमा फोहोर नफाल्न र अव्यवस्थित तवरले नष्ट नगर्न आग्रह गरेपनि पर्यटक लिएर गएका पदपर्दशकहरुले अटेर गरि आधार शिविर क्षेत्रलाई प्रदुषित बनाईरहेको क्लबका अध्यक्ष पुनले बताउनुभयो ।


यो बर्ष मात्रै क्लबले तीन पटक सम्म आधार शिविर क्षेत्रमै पुगेर त्यहाँ पुगेका पर्यटकहरुको फोहोर व्यवस्थापनमा सम्बन्धित ट्रेकिङ तथा आरोही कम्पनीका पथपर्दशकहरुलाई सचेत गराएको थियो । आधार शिविरमा बर्षौदेखि पर्यटकहरुले फोहोर जथाभावि फाल्ने प्रचलनले गर्दा आधार शिविर पुग्ने पर्यटकहरुले नै दुर्गन्ध र प्रदुषण बढेको गुनासो गर्न थालेपछि यो बर्षदेखि राउण्ड धौलागिरी युवा क्लब बगराले फोहोर व्यवस्थापनबारे चासो दिएको हो ।


क्लबले आधार शिविर क्षेत्रमै पटक पटक पुगेर त्यहाँ पदप्रदर्शकहरुले पर्यटकका फोहोर व्यवस्थापनमा गरेको लापरबाहीलाई स्थलगत अबलोकनसंगै सचेत गराउने गरेपनि उनीहरुले जथाभावि रुपमा फोहोर फाल्ने र आधार शिविरमै अव्यवस्थित रुपमा नष्ट गर्ने कार्यलाई नरोकेको क्लबका कोषाध्यक्ष पूर्णबहादुर पुर्जाले बताउनुभयो । ‘‘ आधार शिविरमा पुगेका पर्यटकहरु नै हामी फोहोर हेर्न होईन, हिमाल हेर्न आएका हौँ भन्छन, तर उनीहरुलाई लिएर जाने पथपर्दशकहरुको गैरजिम्मेवार पनको कारण बर्षेनी आधार शिविरमा फोहोर बढीरहेको छ’’–पुर्जाले भन्नुभयो ।


अहिले आधार शिविरमा पर्यटक लैजाने पथपदर्शकहरु अधिकाँशले जल्ने र नजल्ने सबै फोहोरलाई आगो लगाएर यत्रतत्र बनाएर फर्कने गरेको क्लबले जनाएको छ । पर्यटन विकासको सम्भावनायुक्त क्षेत्र भएपनि राज्यको तर्फबाट उचित पहल नहुनु र यस क्षेत्रमा जाने पर्यटक टोलिको सम्बन्धमा सरकारी तवरबाट कुनैपनि निगरानी नहुँदा आधार शिविरमा फोहोर थुप्रने बढ्दो क्रममा रहेको क्लबका सदस्य खिम तिलिजाले बताउनुभयो ।


थोरै मात्रामा ईटाली आधार शिविर क्षेत्रमा ल्याएर फोहोर विसर्जन गर्न थालेपनि पूर्ण रुपमा आफ्नो फोहोर व्यवस्थापन नगरि पर्यटक र उनका पथपदर्शक फर्कने गरेका छन् । धौलागिरी हिमालको आधार शिविर पदयात्राको अन्तिम मानव बस्तीको रुपमा रहेको बगराको सो क्लबले यो बर्ष धौलागिरीको आधार शिविरमै पुगेर फोहोरको अबस्थाबारे स्थलगत अध्ययन समेत गरेको छ ।


आधार शिविरमा पुग्ने पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्याँस सिलिण्डर, भारी बोक्ने क्यारी, सिसाका बोतल, रबर र फलामका भाँडाकुडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिक लगायतको फोहोर थुप्रिएको छ । यस क्षेत्रमा हेलिकप्टर मार्फत पु¥याईएका टायर , धातुका सामाग्री र आरोहणमा प्रयोग गरिएका उपकरण समेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आईएको बुद्धिविकास मावि मुदीका शिक्षक लोकराज रोकाले जानकारी दिनुभयो ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l