खुर्कोट–दाना प्रशारण लाईनको टावर निर्माणमा रातोपानीबासीको अवरोध

  • १५ श्रावण २०७४, आईतवार
  • सन्तोष गौतम
  • 4525 पटक पढिएको

बेनी १५ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ रातोपानीका बासिन्दाले विद्युत प्रशारण लाईनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् । नेपाल विद्युत प्राधिकरण अन्तरगत २२० केभी क्षमत्ताको खुर्कोट दाना प्रशारण लाईन अन्तरगत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रमम स्थानीय बासीले बिरोध जनाउदै अवरोध गरेका हुन् ।

आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्काललाई काम गर्न रोकीएको स्थानीय लोक खत्रीले बताउनुभयो । निर्माण कम्पनी र आयोजनाले पूर्व जानकारी नदिई डोजर ल्याएर एक्कासी टावरको जग खनेको स्थानीयको गुनासो छ ।

उनीहरुले बस्तीलाई असर नपर्ने ठाउँमा टावर राख्न र प्रशारण लाईन लैजाने आयोजनालाई अनुरोध गरेका छन् । अहिले बनाउन लागिएको ठाउँमा टावर राख्दा वरपरका बिस घरधुरी विस्थापीत हुने खत्रीले बताउनुभयो ।स्थानीयको अवरोधपछि आयोजनाको काम रोखिएको छ । तिस जना कामदार र एक वटा डोजर त्यहाँ परिचालन भएका थिए । अन्नपूर्ण गाउँपालीका ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावीत क्षेत्रको बासिन्दा र आयोजनाबीच छलफल गरेर समस्या समाधानका लागि पहल भैरहेको बताउनुभयो ।

कालीगण्डकी कोरीडोर प्रशारण लाईन आयोजना अन्तरगत नेपाल विद्युत प्राधिकरणले पर्वतको खुर्कोट र म्याग्दीको दानामा सब स्टेशनका साथै ३८ किलोमिटर दुरीको प्रशारण लाईन निर्माणको काम गरिरहेको छ ।

 

सन्तोष गौतम