कांग्रेसप्रति एमाले आक्रामकः चुनाव वा सरकार रोज्न चेतावनी

  • ४ फाल्गुन २०७३, बुधबार
  • 1919 पटक पढिएको

काठमाडौं, ४ फागुन । नेकपा एमालेका नेताहरु नेपाली कांग्रेस नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । केपी ओली नेतृत्वको सरकार ढालेर प्रचण्ड प्रधानमन्त्री बनेपछि माओवादीप्रति बढि आक्रामक बनेका एमाले पछिल्लो समयमा कांग्रेस नेतृत्वमाथि प्रहार केन्द्रित गर्दैछ ।

कांग्रेसकै कारण मुलुकमा कुनै पनि चुनाव नहुने, सुरक्षा संयन्त्र पङ्गु बनाउने र बिखण्डवादीले टाउको उठाउने अवस्था आएको भन्दै एमालेले कांग्रेसलाई कित्ता प्रष्ट गर्न चुनौति दिएका छन् ।

बुधवार ललितपुरको च्यासलमा शुरु भएको ३ नम्बर प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै एमाले सचिव योगेश भट्टराईले कांग्रेसको सान्दर्भिकता अब समाप्त हुन लागेको बताए ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटव्यूरो सदस्य काशिनाथ अधिकारी लगायतका नेताले पनि कांग्रेस चुनाव हार्ने देखेर संविधान कार्यन्वयन हुन नदिने षडयन्त्रमा रहेको आरोप लगाए ।

एमाले नेताहरुले यस्तो आरोप लगाइरहादा कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका अध्यक्ष केपी शर्मा ओली कांग्रेस र माओवादीका शीर्ष नेतासाग बालुवाटारमा स्ववियु चुनावबारे छलफलमा थिए ।

एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले प्रचण्ड हार्ने चुनावबाट भागेको र कांग्रेस पनि चुनाव हार्ने डरले पछि हटेको आरोप लगाए । ‘हिजो संविधान जारी गरे लगत्तै संविधान पक्षधर शक्तिहरुबीच सहकार्य टुटाउने पनि कांग्रेस हो । आज पनि कांग्रेस राष्ट्रिय एजेण्डामा प्रष्ट छैन, अतिवादी सिके राउत प्रवृतिलाई मलजल गरिरहेको छ’ भट्टराईले भने, ‘वास्तवमा कांग्रेस चाबुक नहानी चल्दै चल्दैन ।’

भट्टराईले नेपाल प्रहरीभित्र कांग्रेसले पार्टीकरण गर्न खोज्दा चेन अफ कमाण्ड कमजोर भएको बताए । उनले भने, ‘अतिवादी र बिखण्डनवादीहरुलाई नियन्त्रण गर्ने मुख्य सुरक्षा संयन्त्र नेपाल प्रहरीलाई पंगु बनाएर कांग्रेस र माओवादीले राज्यलाई असफल बनाउन खोजेका छन् । उनीहरु अदालत, संवैधानिक निकायलाई समेत निकम्म बनाउदै पत्रकार महासंघ जस्ता पेशागत संगठनमाथि हमला गर्न अघि सरेका छन् ।’

हालै कांग्रेस सम्बद्ध प्रेस युनियनले पत्रकार महासंघमा तालाबन्दी गरेको भन्दै भट्टराईले बिगतदेखि नै कांग्रेसले आफू कमजोर हुन थालेपछि पेशागत संगठन नै बिभाजन गर्ने गरेको इतिहास सुनाए । उनले भने-हिजो शिक्षक संगठन एउटै थियो तर, वामपन्थी नेतृत्वमा आएपछि कांग्रेसले पार्टी पिच्छेका शिक्षक संगठन बनायो । कर्मचारी संगठनबाट आफ्नो नेतृत्व बाहिरिएपछि त्यहाा पनि विभाजन गरेको हो । आज पत्रकार महासंघमा २ पटक हार्नासाथ महासंघ कमजोर बनाउन खोज्दैछ ।’

सचिव भट्टराईले एमालेले सरकारतिर आाखा नलगाएको तर, चुनावको मिति घोषणा नहुने हो भने प्रचण्ड नेतृत्वको सरकार नैतिक रुपमा रहन नसक्ने बताए । उनले भने-कि चुनाव रोज्नुस कि सरकार छाड्नुस् । चुनाव नगराउने हो भने सरकारमा बस्न दिदैनौं ।’
त्यो अवस्थामा कांग्रेस एमाले माओवादी र मधेस केन्दि्रत दलसहितको सरकार बनेर चुनाव गराउनुपर्ने हुनसक्ने उनले बताए ।

एमाले प्रचार बिभाग र प्रेस चौतारीले संयुक्त रुपमा आयोजना गरेको भेलामा एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापा, सचिव बिष्णु रिजाल, सदस्य प्रमोद दाहाल, प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष विश्वमणी सुवेदी, महासचिव राजेश राई लगायतले पत्रकार महासंघको अधिवेशनमा हार्ने भएर प्रेस युनियनले अलोकतान्त्रिक ढंगले तालाबन्दी गरेको बताए ।

भेलामा ३ नम्बर प्रदेश अन्तर्गतका प्रेस चौतारीका अगुवा नेता कार्यकर्ता, पत्रकार महासंघका पदाधिकारी र एमाले तथा जनसंगठनका प्रचार बिभाग प्रमुखहरुको सहभागिता रहेको छ ।