प्रसिद्ध धार्मिक स्थल ऋखार क्षेत्रमा भक्तजनको भिड

  • १३ श्रावण २०७४, शुक्रबार
  • कमल खत्री
  • 3029 पटक पढिएको

म्याग्दी, १३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘ऋखार क्षेत्र’ मा भक्तजनहरुको भिड लागेको छ । सप्तऋर्षिहरुले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तिर्थस्थलको रुपमा चिनिदै आएको ऋखार क्षेत्रमा आज विहानैदेखि भक्तजनहरुको भिड लागेको छ । पूर्णिमाको दिन साउन २३ गते चन्द्रग्रहण परेकाले नाग पञ्चमीको दिन आज नै ऋषितर्पणी तथा रक्षाबन्धन पर्व समेत मनाउन लागिएको हो ।


ऋषितर्पणीको असबरमा मनोकांक्षा पुरा हुने विश्वासले म्याग्दीका विभिन्न ठाउँसंगै बाहिरबाट समेत उल्लेख्य मात्रामा भक्तजनहरु आएको ऋखार क्षेत्र संरक्षण समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिनुभयो । धौलागिरी बेशक्याम्पसँगै करिब ४ हजार ५ सय मिटर उचाईमा अवस्थित ऋखार भौगोलिक हिसाबले धेरै रमणीय ठाउँको रुपमा चिनिदै आएको छ ।


ऋखार क्षेत्रको दर्शन तथा पुजापाठ र भम्रणमा आउने तिर्थयात्रीहरुको लागि पदमार्ग निर्माण, प्रचार प्रसारमा दरबाङ –४ हिदीका ६५ बर्षिय बाबा गम बहादुर शेरपुञ्जाले पहल गर्नुभएको छ । उहाँको पहलमा गत बर्ष रु ४४ हजारको लागतमा सप्तऋषिको मुर्ति प्रतिस्थापन गरिएको छ । यस क्षेत्रमा विभिन्न खोलामा झोलुङ्गे पुल, व्यवस्थित पदमार्ग , खानेपानी, थप धर्मशाला लगायतका पूर्वाधारहरु निर्माण गर्न समस्या देखिएको समितिले जनाएको छ ।

यसैबिच, बेनीस्थित रिहगाद बहुउद्देश्यीय सहकारी संस्थाले रिखारमा खानेपानीको सहजताका लागि ३० हजार रुपैयाँ बराबरको ३ क्वायल पाइप सहयोग गरेको छ । यस क्षेत्रमा सप्त ऋषि एवम पौलत्स्य ऋषि र स्वर्गद्धारी महाप्रभुले समेत तपस्या गरि ज्ञान आर्जन गरेको धार्मिक विश्वास रहेको छ । कुईनेमंगलेदेखि एक दिनको पैदल यात्रामा पुगिने धौलागिरीको काखमा पानीको तलाउमा रहेको डुङ्गा आकारको ढुंगामा कहिल्यै नसुक्ने पानी रहनु थप आकर्षण हो ।

भौगोलिक हिसाबले धेरै रमणीय रहेकाले धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गरे ऋखारको प्रचार प्रसार र विकास हुने स्थानीय पात्लेखर्क ऋखार युवा क्लबका सचिब अंकित पुनले बताउनुभयो । जनैपुर्णीमाको अवसरमा ऋखारमा स्नान र दर्शनका लागि म्याग्दीका विभिन्न ठाउँका अतिरिक्त, पर्वत, बाग्लुङ्ग, नवलपरासी लगायतका जिल्लाबाट तिन सय भन्दा धेरै भक्तजनहरु त्यहाँ पुग्ने गरेका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l