जिसस सभापतिमा मल्लको दाबेदारी

  • १३ श्रावण २०७४, शुक्रबार
  • 3993 पटक पढिएको

म्याग्दी, १३ साउन । साउन २० गते हुने जिल्ला समन्वय समिति निर्वाचनमा सभापतिका लागि नेपाली काँग्रेस नेता लोकबहादुर मल्लले उम्मेदवारी दिने भएका छन् । बिहिबार दरबाङमा सम्पन्न नेपाली काँग्रेसको मंगला, मालिका र धवलागिरि गाउँपालिकाको काँग्रेस इकाई सभापति, निर्वाचित वडाअध्यक्ष र सदस्यहरुको भेलाले मल्ललाई सभापतिका लागि अघि बढाउन काँग्रेस जिल्ला कार्य समितिलाई आग्रह गर्ने निर्णय गरेका हुन् । पश्चिम क्षेत्रमा विकास निर्माण र सर्वसाधारणको समस्या समाधानका लागि मल्ललाई अघि सार्न भेलाले निर्णय गरेको नेपाली काँग्रेस मालिका गाउँपालिकाका नेता हिराबहादुर पुनले बताए ।

‘तीन वटै गाउँपालिका अन्र्तगत रहेको इकाई सभापति र वडाअध्यक्षहरुले उहाँलाई सर्वसम्मत रुपमा अघि बढाउने माग गरेका छन्, यसबारे हामीले पार्टीसँग पनि छलफल गर्नेछौँ’, उनले भने । मल्ल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटबाट वडा सदस्यमा विजयी भएका थिए । मल्लले समन्वय समितिको अधिकार भित्र रहेर समग्र विकास प्रक्रियालाई अघि बढाउन आफु सभापतिको दाबेदार रहेको बताए । ‘

६ वटै स्थानीय तहमा सडक स्तरोन्नति, अर्गानिक उत्पादन, बेरोजगारी समस्या कम, पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न सकिन्छ र जलविद्युतको तत्काल उत्पादनमा मैले भूमिका निर्वाह गर्नेछु’ उनले भने । जिससको निर्वाचन कार्यतालिका अनुसार, साउन १८ गते उम्मेदवारी दर्ता र २० गते निर्वाचन हुनेछ । त्यसअघि साउन १६ गते मतदाता नामावली प्रकाशन हुनेछ । म्याग्दीमा जिल्ला समन्वय समितिमा सभापति सहित ९ सदस्य हुने यसअघि नै निर्णय भइसकेको छ ।

निर्वाचनमा स्थानीय तहको प्रमुख र उपप्रमुखले मात्र मतदान गर्ने अधिकार रहेपछि म्याग्दीमा यो निर्वाचन रोमाञ्चक हुने देखिएको छ । सभापति लगायत सदस्यको उम्मेदवार भने स्थानीय तहको प्रमुख÷उपप्रमुख सहित वडाअध्यक्ष र सदस्यहरु पनि बन्ने पाउने प्रावधान छ । जिससमा मताधिकार भएका ६ स्थानीय तहका १२ जना मतदाता मध्ये ६ जना काँग्रेस, ५ जना एमाले र १ जना राप्रपाका छन् । एमाले–राप्रपा गठबन्धनबाट बेनी नगरपालिकाको उपप्रमुखमा निर्वाचित राप्रपाकी सञ्जु बरुवाल निर्णायक हुन् ।