मालिका गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता घरदैलोमै !

  • १२ श्रावण २०७४, बिहीबार
  • 4243 पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्न सुरु गरेको छ । गरिमा विकास बैंक दरबाङ शाखा र वडा कार्यालयको समन्वयमा घरदैलोमै भत्ता वितरण प्रक्रिया सुरु गरिएको हो । बिहीबार गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका, गरिमा विकास बैंक दरबाङ शाखाका प्रबन्धक नारायणहरि शर्मा, वडा नम्बर १ निस्कोटका वडाअध्यक्ष टँक पुन लगायतको उपस्थितिमा निस्कोटका ७१ जना बृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ ।

गाउँमै भत्ता पाउने भएपछि लाभग्राहीलाई गाउँपालिकाको केन्द्र दरबाङ झर्नुपर्ने बाध्यता हटेको छ । गाउँमै भत्ता पाउँदा उनीहरु खुशी समेत भएका छन् । सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने गाउँपालिकाको निर्णय बमोजिम निस्कोटबाट उक्त कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले जानकारी दिए । उनका अनुसार, यो कार्यक्रमलाई सबै वडामा सञ्चालन गरिनेछ ।

‘बैकिङ्ग प्रणाली अनुसार धेरै झन्झट हुने भएपनि गाउँपालिका र बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत नै यो कार्य सुरु गरेको हो’, प्रमुख रोकाले भने । उनले निस्कोटका साथै रुम, देविस्थान, ओखरबोट, विम लगायतका स्थानहरुमा पनि छिट्टै वितरणको तयारी भएको छ । स्थानीय तहको निर्वाचन मार्फत रोका गाउँपालिकाको प्रमुखमा चुनिएपछि सामाजिक सुरक्षाभत्तालाई घरदैलोमै वितरण गर्ने पहिलो निर्णय गरेका थिए ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बित्तीय संघसंस्थाका पहुँच भएपनि ग्रामिण भेगबाट भत्ता लिन आउँदा खाशगरि बृद्धबृद्धाहरुलाई बढी समस्या भएको थियो ।