पूर्वाधार निर्माणसंगै पर्यटक लोभ्याउँदै लभ्लीहिल (फोटो फिचर)

  • १२ श्रावण २०७४, बिहीबार
  • कमल खत्री
  • 4648 पटक पढिएको

म्याग्दी, १२ साउन । म्याग्दी भम्रणमा आउने पर्यटकहरुलाई बेनीमा घुमाउने ठाउँहरुको खोजी भईरहेको समयमा लभ्लीहिललाई उपयुक्त गन्तव्य बनाउन सकिने देखिएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुन थालेपछि यो क्षेत्रको पर्यटकीय सम्भावनाबारे चर्चा सूरु भएको हो ।                    

बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२ खबरा नजीकै अबस्थित यस लभ्लीहिलबाट मनोरम दृष्यहरुको अबलोकन गर्न सकिने भएपछि पछिल्लो समय बेनी बजारबासी संगै बेनीमा आउने आन्तरिक पर्यटकहरुको लागि लभ्लीहिल पहिलो रोजाईमा पर्दै गएको छ ।

आर्थिक बर्ष २०७३÷०७४ मा पर्यटन कार्यालय पोखरा र बेनी नगरपालिकाको आर्थिक सहयोगमा गोलघर सहितको विश्रामस्थल , रेलिङ, आरामदायि बेन्च लगायतका पूर्वाधार तयार भएपछि लभ्लीहिलले आन्तरिक पर्यटकहरुलाई लोभ्याइरहेको छ ।

आरामदायि बेञ्च र गोलघरमा बसेर म्याग्दीनदी र कालिगण्डकी नदीको दोभानमा रहेको सुन्दरनगरी बेनीबजार, पर्वतबेनी संगै म्याग्दी र पर्वतका दर्जनौँ ग्रामीण गाउँबस्तीहरुलाई एकैठाउँबाट अवलोकन गर्नका लागि अहिले दैनिक लभ्लीहिल पुग्नेहरुको संख्या बढीरहेको छ ।

गलेश्वरदेखि सल्ल्ल बगेको कालिगण्डकीको मनमोहक दृष्य, धौलागिरि लगायतका मनोरम हिमालको चुचुरो, चौफेरै देखिने हरियाली र आकर्षक भु–वनोट लगायतको कारणले आफुलाई लोभ्याएको पहिलो पटक लभ्लीहिल पुगेका रघुगंगा गाउँपालिका–२ का निरोज कार्कीले बताउनुभयो । दुई नदीको बिचमा अबस्थित सुन्दर शहर बेनीबजारलाई पृष्ठभुमिमा राखेर तस्बिर खिचाउँदा मनै फुरुङ्ग हुने उहाँले अनुभव सुनाउनुभयो ।


हालै पर्यटन कार्यालय पोखराको ५ लाख बेनी नगरपालिकाका साढे ४ लाख र स्थानीयको साढे २ लाख बराबरको जनश्रमदानमा लभ्लिहिलको शिरमा आकर्षक गोलघर सहितको विश्रामस्थल, पाँच ठाउँमा आकर्षक आरादायि फलामको बेञ्च र डिलमा सुरक्षाको लागि १८८ मिटर रेलिङ निर्माण गरिएको लभ्लीहिल डाँडा पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिका अध्यक्ष ध्रुवराज कार्कीले बताउनुभयो ।

चालु आर्थिक बर्षमा वडा कार्यालयले समेत लभ्लीहिलमा पर्यटन पूर्वाधार निर्माणको लागि रु ५ लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट हाँडेभिर हुँदै लभ्लीहिल पुग्ने नयाँ पदमार्गको ट्याक निर्माण कार्य सूरु गर्ने लक्ष्य राखेको अध्यक्ष कार्कीले बताउनुभयो ।

‘‘ बेनी नजीकै रहेपनि अहिलेसम्म कतैबाट पनि महत्व नपाएर ओझेलमा परको लभ्लीहिलले विस्तारै चर्चा बटुल्न थालेको छ, व्यवस्थित पदमार्ग निर्माणसंगै लभ्लीहिलमा आकर्षक भ्यु टावर निर्माण गर्ने योजना बनाएका छौँ, सबैक्षेत्रबाट आबश्यक सहयोग प्राप्त भएपमा निकट भविश्यमै यो क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न हामी लागिरहेका छौँ’’– उपभोक्ता समितिका अध्यक्ष कार्कीले भन्नुभयो ।

अहिले गोलघर, रेलिङ, आरामदायि बेञ्च लगायतका पूर्वाधार तयार भएपछि दैनिक सयौँको संख्यामा लभ्लीहिल पुग्न थालेका छन् । बिशेष गरि युवायुवतीहरु विहान बेलुका र बालबालिका र उनका अभिभावकहरु शनिवार र विदाको दिन एकान्त वातावरण भएको लभ्लीहिल क्षेत्रमा पुगेर मनोरञ्जन लिने बढेका छन् ।

पहिले खाडाको डाँडाको नामले चिनिने यो क्षेत्रलाई मनोरम दृष्यहरुको अवलोकन गर्न सकिने भएकाले केही बर्षदेखि लभ्लीहिल नामाकरण गरिएको थियो । यो क्षेत्रको विकासको लागि पदमार्ग र भ्युटावर निर्माणसंगै फोहोर व्यवस्थापन, सार्वजनिक सौचालय निर्माण, खानेपानीको सुविधा, होटल तथा रेष्टुरेन्ट र बगैचा निर्माण जस्ता योजनाहरुलाई समेत उपभोक्ता समितिले अगाडी सारेको छ ।

यस क्षेत्रमा खान बस्नको लागि आबश्यक व्यवस्था सहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भम्रणमा आउने पर्यटकहरुलाई कम्तीमा एक दिन यस क्षेत्रमा पु¥याउन सकिने अपेक्षा गरिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l