म्याग्दीमा छुटेका मतदाताहरुले धमाधम नामावली दर्ता गराउँदै

  • ११ श्रावण २०७४, बुधबार
  • धिरन खत्री
  • 3183 पटक पढिएको

म्याग्दी, १ १ साउन । विविध कारणले मतदाता नामावलीमा दर्ता गराउन छुटेकाहरुले आफ्नो मतदाता नामावली धमाधम दर्ता गराउन थालेका छन् । आगामी प्रदेश सभा र प्रतिनिधि सभालाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन गर्न थालेपछि कार्यालयमै पुगेर दर्ता गराउनेहरुको संख्या बढको हो ।


कार्यालयले साउन १ गते देखि संकलन सुरु गरेकोमा मंगलबार सम्म ५६१ मतदाताले नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयमा १० गते ९५ मतदाताले नामावलीमा दर्ता गरेका छन् । २९४ पुरुष र २४७ महिलाले नामावली दर्ता गरेको कार्यालयका सूचना अधिकृत बलबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नामावाली दर्ता दैनिकी रुपमा बढ्दै गएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म म्याग्दीमा ७१ हजार ४ सय ७३ मतदाता रहेका थिए ।


अहिले बसाईसराई, विवाह, बैदेशिक रोजगारी लगायतका कारणले छुटेका युवायुवतीहरु धमाधम नामावली दर्तामा सहभागी भएका छन् । कार्यालयले जिल्ला निर्वाचन कार्यालको साथै गाउँपालिकाको केन्द्रमा समेत साउन १६ गते देखि साउन मसान्तसम्म छुटेका मतदाताहरुको गाउँपालिकाको केन्द्रमा मतदाता नामावली संकलन गर्ने ब्यवस्था मिलाएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो ।


नागरिकको भोट हाल्ने अधिकार प्रदेश निर्वाचनमा सुनिश्चित गर्न प्रदेश निर्वाचनको मिति घोषणा नभएसम्म नामावली संकलनलाई निरन्तरता दिईने निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l