प्रदेश निर्वाचनमा काँग्रेस पहिलोः डा.संग्रौला

  • ११ श्रावण २०७४, बुधबार
  • राकेश शर्मा
  • 1901 पटक पढिएको

म्याग्दी, ११ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिना संग्रौलाले प्रदेश निर्वाचनमा काँग्रेसलाई पहिलो बनाउने गरि लाग्न कार्यकर्तालाई निर्देशन दिएकी छन् । नयाँ सोच, नयाँ विचार र नयाँ ढँगले काँग्रेसलाई अघि बढाउन आवश्यक रहेको चर्चा गर्दै उनले स्थानीय तहको निर्वाचनलाई पाठको रुपमा लिएर प्रदेश निर्वाचनमा होमिन आग्रह गरे ।

नेपाली काँग्रेस म्याग्दीको आयोजनामा मंगलबार बेनीमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य संग्रौलाले सत्तामा रहेको काँग्रेसले जनमुखी कार्यक्रम सञ्चालन गर्ने भन्दै स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाटै काँग्रेस पहिलो शक्ति बन्ने दाबी गरिन् । ‘पहाडीया र मधेसी राष्ट्रबादको नारा लिएर एमालेले अहिलेसम्म केहि सीट बढी ल्याएको छ, तर हामीले पहाडे राष्ट्रबादको नाममा मधेस र मधेसी राष्ट्रबादको नाममा पहाडलाई चिढाउन चाहादैनौँ’, उनले भनिन्, ‘संविधान संशोधनमा हाम्रो निरन्तरको प्रयास पनि यहि हो, तर एमालेले गलत अफवाह फैलाएर क्षणिक भोट ल्याउन काम गरेको छ ।’

एमालेकै कारण संविधान संशोधन हुन नसकेको चर्चा गर्दै केन्द्रिय सदस्य डा. संग्रौलाले यसको मूल्य एमालेले भविश्यमा चुकाउनुपर्ने बताईन् । काँग्रेसमा गणेश प्रवृत्ति हावी हुँदै जाँदा केहि स्थानमा पराजय भोगेको स्वीकार गर्दै उनले भनिन्, ‘म्याग्दी काँग्रेसबाट अरु जिल्लाले सिक्नुपर्ने भएको छ ।’ प्रदेश निर्वाचनलाई लक्षित गर्दै प्रदेशस्तरीय घोषणा पत्र निर्माणमा काँग्रेस जुटिसकेको भन्दै उनले योजना निर्माण र कार्यान्वयनमा जनता नै केन्द्रमा रहने जानकारी दिइन् ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै महिला नेतृ उर्मिला थापामगरले प्रदेश निर्वाचनमा जित हासिल गर्न काँग्रेसले गुटगत राजनीतिलाई हटाउनुपर्ने बताईन् । हाम्रालाई भन्दा बर्षौ देखि खटिएका र निष्ठावान कार्यकर्तालाई जनताले विश्वास गर्ने भन्दै त्यसैलाई उम्मेदवार बनाउने नीति केन्द्रले अबलम्बन गर्नुपर्ने उनको सुझाब छ ।

कार्यक्रममा, नेपाली काँग्रेस म्याग्दीका सचिब एवँ बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका नेता नेत्रबहादुर महत, जिल्ला सदस्य एवँ बेनी अस्पताल विकास समितिका अध्यक्ष माधब प्रसाद रेग्मी, नेपाल महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्य, पूर्वकेन्द्रीय सदस्य आनन्दी राणा कार्की, नेपाल टे«ड युनियनका केन्द्रिय महिला उपाध्यक्ष शकुन्तला शर्मा, महिला संघ म्याग्दीकी सभापति विमला गौचन लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन काँग्रेसका जिल्ला सदस्य एवँ प्रचारबिभाग प्रमुख अजयमिलन श्रेष्ठले गरेका थिए ।

राकेश शर्मा