समाजसेवी मल्लद्धारा गलेश्वरका जेष्ठ नागरिकलाई निःशुल्क भोजन

  • ८ श्रावण २०७४, आईतवार
  • 6229 पटक पढिएको

म्याग्दी, ८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ का समाजसेवी देवेन्द्र बहादुर मल्लले गलेश्वरका जेष्ठ नागरिकहरुलाई एक दिन निःशुल्क भोजन गराउनुभएको छ । बेनी नगरपालिका–९ मा अबस्थित गलेश्वर पुलत्स्य पुलह अन्नक्षेत्रमा भोजन ग्रहण गर्दै आएका गलेश्वर जेष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरुलाई मल्लले एक दिनको भोजन गराउनुभएको हो ।

आईतवार मल्लले अन्नक्षेत्रमा पुगेर त्यहाँ भोजन ग्रहण गर्दै आएका बृद्धबृद्धा, संस्कृति विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क भोजन गराउनुभएको थियो । आफ्नो स्वर्गिय बुबा आमा टिका मल्ल र मुमा कुमारी मल्लको सम्झनामा उहाँले रु २४ हजार नगद अन्नक्षेत्रलाई उपलब्ध गराएर जेष्ठ नागरिकहरुलाई खिर र दहीको भोजन गराउनुभएको थियो ।


तत्कालिन राखु भगवती गाउँ पञ्चायतका पूर्व गाउँ प्रधानपञ्च समेत रहनुभएका मल्लले त्यहाँ रहेका सबै जेष्ठ नागरिक र विद्यार्थीहरुलाई फलफुल र जनही रु १ सय ५ का दरले दक्षिणा समेत प्रदान गर्नुभएको थियो । सो अबसरमा समाजसेवी मल्लकी छोरी कोपिला शाही मल्लले समेत अन्नदान क्षेत्रलाई नगद रु ५ हजार ५ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

सो अबसरमा सहयोगदाताद्धयले जेष्ठ नागरिक र संस्कृत विद्यालयका विद्यार्थीहरुलाई फलफुल र दक्षिणा वितरण गर्नुभएको थियो । गलेश्वर जेष्ठ नागरिक आश्रम परिसरमा रहेको यस अन्नक्षेत्रले आश्रममा रहेका जेष्ठ नागरिक, संस्कृत विद्यालयका विद्यार्थीसंगै तिर्थयात्रीहरुलाई समेत निःशुल्क रुपमा खाना खुवाउने व्यवस्था गर्दै आएको छ ।

अन्नक्षेत्र जस्तो महत्वपूर्ण मानविय सेवामा समर्पित संस्थामा पुगेर जेष्ठ नागरीहरुलाई एक दिन भएपनि खाना खुवाउँदा आफुलाई सन्तुष्टि मिलेको सहयोगदाता मल्लले बताउनुभयो । समाजसेवी मल्लले गर्नुभएको सहयोगप्रति अन्नक्षेत्रका अध्यक्ष पण्डीत भिमनाथ पराजुलीले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उहाँले मल्ल जस्तै सहयोग दाताहरुको सहयोगले अन्नक्षेत्र अहिलेसम्म सञ्चालन हुन सकेको बताउनुभयो ।