अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको सहयोग

  • ८ श्रावण २०७४, आईतवार
  • सन्तोष गौतम
  • 4137 पटक पढिएको

म्याग्दी, ८ साउन । बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई आईतबार तिन लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई प्रवासमा रहेका ज्यामरुककोटका युवा र स्थानीय व्यक्तिहरुको पहलमा संकलीत तिन लाख आठ हजार ९२५ रुपैया हस्तान्तरण गरिएको हो ।

घिमीरेको निवासमा वडा अध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुँवरले राजनितिक दलका प्रतिनिधि र आफन्तहरुको रोहबरमा बिदेशबाट प्राप्त दुई लाख ९० हजार ७२४ रुपैयाको भौचर र स्थानीय स्तरमा संकलीत १८ हजार २०१ रुपैया नगद हस्तान्तरण गर्नुभयो । देवेन्द्र घिमीरेको अगुवाईमा सञ्चालीत कृष्ण घिमीरे सहयोग संकलन अभियानमा दुवईमा प्रदीप सुवेदी, जापानमा राजकुमार कार्की, दक्षिण कोरीयामा काशीराम घिमीरे र भुमीराज कार्की, साउदी अरबमा सुनील सापकोटा, अस्टे«लीया, ईजरायल र अमेरीकामा दानेन्द्र थापा र बहराईनमा भरत रत्नले समन्वय गर्नुभएको थियो ।

अपाङ्गता भएका घिमीरेको जिविकोपार्जन, औषधी उपचार र सन्तानको शिक्षाका सघाउ पु¥याउनका लागि प्राप्त भएको रकम उनी, श्रीमती र कान्छा छोराको नाममा रहेको बैङ्क खातामा जम्मा गरिएको छ । वडा अध्यक्ष थापाले प्रवासमा रहेका ज्यामरुककोटका युवाहरुले घिमीरेको लागि गरेको सहयोगको प्रशंसा गर्दै उनको जिविकोपार्जन र दैनीकीलाई सहज बनाउन सरकारी तवरबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । अभियानका संयोजक देवेन्द्र घीमीरेको अध्यक्षता र ज्यामरुककोटका अगुवा कृष्णबहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । हाल बेनपा ७ मंगलाघाटमा बस्दै आउनुभएका घिमीरेका दुई छोरा र श्रीमती हुनुहुन्छ ।

सन्तोष गौतम