समृद्ध धौलागिरि गाउँपालिकाका लागि गाउँसभामा प्रस्तुत निती तथा कार्यक्रम र बजेट यस्तो छ ( पूर्ण पाठ सहित)

  • ८ श्रावण २०७४, आईतवार
  • 3828 पटक पढिएको

धवलागिरी गाँउकार्यपालिका बाट गाँउसभामा गाउँसभाका अध्यक्ष थमसरा पुनद्धारा प्रस्तुत  नीति तथा कार्यक्रम  र बजेट

 आदरणीय गाँउसभाका सदस्यज्यूहरु

स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर यस धवलागिरी गाउँसभाको पहिलो गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान गर्दछु ।

  1. धवलागिरी गाउँपालिकाको यथार्थता ‌झल्काउने तथ्यमा आधारित गाउँपालिका पार्श्वचित्र आगामी आर्थिक बर्ष भित्र निर्माण गरिनेछ ।
  2. अत्यन्त विकट भौगेलिक अवस्थित  सडक सञ्जाल र विद्धुत जस्ता भौतिक पूर्वाधारको सेवा बाट विमुख यस धवलागिरी गाउँपालिकाको कार्यालयको सञ्चालनको क्रममा कार्यालयको व्यवस्थापन केही हदसम्म गरिएको र आगामी वर्ष वडाहरुको कार्यालय व्यवस्थापन गरी सर्वसाधरणले आफ्नो गाउँमानै गुणस्तरीय सेवा प्राप्त गर्ने कार्यलाई सुनिश्चित गरिने छ ।
  3. यस धवलागिरी गाँउपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । संविधान प्रदत शिक्षा सम्बन्धी अधिकार कार्यान्वयन गर्न संस्थागत क्षमता अभिवृद्दी गरिने छ । विद्यालयको भौतिक पूर्वाधार निर्माण र दरबन्दी व्यवस्थापनमा प्रदेश र संघिय सरकार सँग समन्वय गरी आवश्यक व्यवस्था गरिने छ । कक्षा ८ स्तरीय परीक्षा गाँउपालिकाबाट सञ्चालन गरी माध्यामिक तह सम्मको शिक्षामा गुणस्तरीयता अभिवृद्धी गरिने छ । स्नातक तह सम्मको अध्ययन हुने क्याम्पस स्थापना र प्राविधिक शिक्षा अध्यापन गराइने उच्च माध्यामिक विद्धयालय स्थापना गर्न पहल गरिने छ ।
  4. गाउँपालिका केन्द्र देखी अति विकट मानिने वडा र बिशिष्ट अवस्थिति भएका क्षेत्रहरुलाई विशेष तथा स्वायत्त क्षेत्र घोषणा गर्न पहल गरिने छ ।
  5. गाउँपालिकामा १५ शैयाको अस्पाताल निर्माण गर्न आवश्यक सहजीकरण गरिने छ । धेरै नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्ने सुनिश्चितता गर्न उपर्युक्त स्थानमा अस्पताल स्थापनाको लागि पहल गरिने छ ।
  6. धवलागिरी गाँउपालिकाबाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा गुणस्तरीयता सुनिश्चित गर्न कम्प्युटरकृत सूचना प्रविधिलाई अबलम्बन गरिने छ । यसका लागि उपलब्ध जनशक्तिको दक्षता अभिवृद्धी गरिने छ ।
  7. जनसहभागितामा आधारित आयोजना कार्यान्वयन पद्दतीलाई उच्च प्राथमिकता दिईने छ । गाउँपालिकाबाट सञ्चालन हुने ग्रामीण सडकमा कम्तीमा १० प्रतिशत जनसहभागिता सुनिश्चत गर्ने नीति अबलम्बन गरिने छ ।
  8. यस गाउँपालिकाको उपर्युक्त स्थानमा बाह्य खोप केन्द्रको भवन निर्माण गरिने छ । एक गाँउ एक प्राविधिक कार्यक्रमलाइ संघीय सरकारसँग समन्वय गरी कार्यान्वयन गरिने छ ।
  9. यस कार्यालयबाट सम्पादन गरिने भौतिक पूर्वाधार निर्माण सम्बन्धी कार्यलाई लागत प्रभावी  र गुणस्तरीय बनाउन नियमित अनुगमन गरिने छ । आयोजनाहरु छनौट गर्दा उच्च जनसहभागिता रहने र अधिक नागरिकले प्रतिफल प्राप्त गर्ने योजनालाई उच्च प्राथमिकता दिइने छ ।
  10. धवलागिरी गाउँपालिकाको समृद्धीको आधार सदैव केन्द्रीय अनुदान मात्र हुन सक्दैन । सो कुरालाई हृदयंगम गरी आन्तरिक आय अभिवृद्धी हुने कार्यक्रम सञ्चालन गर्नुको बिकल्प छैन । सो कुरालाई बोध गरी आन्तरीक आय अभिवृद्धी हुने कार्यक्रम सञ्चालन गर्नुको बिकल्प छैन । सोको लागि सम्पूर्ण व्यवसायलाई गाउँपालिकामा दर्ता गरी व्यवसाय कर उठाउने व्यवस्था गरिने छ । पर्यटन तथा बिद्धुत रोयल्टी यस गाउँपालिका मातहत ल्याउन सम्बन्धित तह वा निकाय सँग समन्वय गरिने छ ।
  11. गाउँपालिका भित्र रहेका वडाहरु अब प्रतिद्न्दी रहेनन् । बरु एक अर्काका घनिष्ट सहयात्री हुन् । एउटा वडाको योजना निर्माण र छनौटमा अर्के वडाको समर्थन अनिवार्य भएको तथ्य बोध गर्दै यस गाउँपालिकाको समृद्धीको खाका कोर्ने र गाउँपालिकाको केन्द्र निर्धारण गर्न आगामी साउन मसान्त भित्र हाल गाउँपालिकाको केन्द्र रहेको साविकको मुना गा वि स मा पूर्व सहमती बमोजिम सरोकारवालाहरुको वृहत भेला आयोजना गरी सहमतिको आधारमा केन्द्र विवाद निरोपण गरिने छ ।
  12. पर्यटन क्षेत्रलाई शान्तिपूर्ण र आयमूलक बनाउन पर्यटक चेकपोष्टको व्यवस्था गरिने छ । साथै पर्यटकीय स्थलहरुमा फोहोर व्यवस्थापन क्याम्पिङ स्थलको व्यवस्था गर्ने योजनालाई तुरुन्त लागू गरिने छ ।
  13. आफ्नो गाँउपालिका भित्र रहेका विभिन्न जडिवुटी तथा बन पैदावरहरुको पहिचान गरी मजदुरको न्युनतम पारिश्रमिक बच्ने गरी सङ्कलन गर्ने समय र करको व्यवस्था गरिनेछ ।
  • युवा सशक्तीकरणको लागि मागमा आधारित विभिन्न ठाँउमा खेलमैदान निर्माण तथा कार्यक्रमहरु आयोजना गरिने छ ।
  1. बालबालिकाहरुको हकहित संरक्षण गर्दै उनीहरुको चौतर्फी विकासको लागि विभिन्न खालका बालमैत्री कार्यक्रमहरु गर्न सरकारी कार्यालयहरुसंग सहकार्य गरिने छ ।
  2. महिला सशक्तिकरणको लागि मागमा आधारित तथा लक्षित समूह पहिचान गरी क्षमता विकास , लैङ्गीक सचेतना कानुनी परामर्श र आयआर्जन पाटोलाई मध्यनजर गरी कार्यक्रम बनाई बिभिन्न समुदाय तथा बस्तीहरुमा सञ्चालन गरिने छ । यसका लागि बालबालिका तथा महिला विकास कार्यालय लगायत विभिन्न गैर सरकारी संस्थाहरु सँग समन्वय गर्दै कार्यक्रम निर्माण तथा कार्यान्वयन गरिने छ ।
  3. जेष्ठ नागरिकहरु समाजको जिउँदो दस्तावेज भएको कुरालाई मध्यनजर गर्दै वहाँहरुको लागि राज्यले तोकेको नियमित सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रमाण तथा कागजातहरु समयमा नै अद्यावधिक गर्ने जनतालाई सुसुचित गर्ने र गाउँपालिकाबाट पनि सबैभन्दा जेष्ठ नागरिक पहिचान गरी प्रत्येक वडामा एक पुरुष जेष्ठ नागरिक र एक महिला जेष्ठ नागरिकलाई सम्मान गरिने छ ।
  • धवलागिरी गाउँपालिका क्षेत्र भित्र रहेका अपाङ्गहरुको विवरण अद्याबधिक र पहिचान गरी महिला तथा बालबालिका कार्यालय सङ्ग समन्वय गरी अपाङ्गता प्रमाण प्रदान गर्न घुम्ती शिविर आयोजना गरिने छ ।
  1. पञ्जीकरण व्यवस्थालाई समयमानै अपडेट गर्न जनतालाई सुचित गरिने छ । सो मध्ये जन्मदर्ता गर्ने क्रममा ३५ दिन काटे पनि छोरीको जन्मदर्ता निशुल्क गरिदिने व्यवस्था गर्न पहल गरिने छ ।
  • समाजमा रहेको सामाजिक समस्या मध्ये बालबिवाह रोक्न जनचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सो कार्य रोक्न पहल गर्ने व्यक्ति लाई विशेष पुरस्कार व्यवस्था गरिने छ ।
  1. धवलागिरी गाँउपालिका भित्र रहेका विभिन्न प्रकारका खानी तथआ खनिज लगायत अन्य दृष्य/अदृष्य प्राकृतिक स्रोतको खोज अनुसन्धान संरक्षण तथा प्रबर्द्ध्न गर्न विभिन्न विशेषज्ञहरुबाट सम्भावनाको खोजी गरिने छ र सोही अनुसार योजना बनाई कार्यान्वयन गरिने छ ।
  2. धवलागिरी गाउँपालिकाले कृषिलाई उच्च महत्व दिएको छ । धवलागिरी गाँउपालिकालाई खद्यान्नमा आत्मनिर्भर बनाउने नीति अबलम्बन गरिने छ । सो को लागि प्रत्येक वडामा एक गाँउ एक उत्पादन कार्यक्रम  लागू गरिने छ ।
  3. वातावरण तथा सरसफाइलाई मध्येनजर गर्दै प्रत्येक वस्तीमा टोल सुधार समूह गठन गरी फोहोर व्यवस्थापन तथा ढल व्यवस्थापनको कार्यक्रमलाई प्राथमिकताका आधारमा क्रमश सुरु गरी पाँच बर्ष भित्रमा प्रत्येक वडामा क्रमश आयोजना गरिने छ ।
  4. विद्यालय बाहिर रहेका बालबालिकालाई पढ्न आउने वातावरण सिर्जना गर्न छात्रवृती बाहेक छुट्टै सेवा सुविधा लगायत विभिन्न प्रेत्साहन भत्ता को व्यवस्था गरिने छ ।
  5. नीजी विद्यालयमा महङ्गो शुल्क तिर्ने र राम्रो शिक्षा दिलाउन सहर बजार तिर आकर्षण हुने क्रम रोक्न प्रत्येक आधारभूत विद्यालयमा क्रमश अंग्रेजी माध्यमबाट पठनपाठन गराउन विद्यालय प्रशासन, विद्यालय व्यवस्थापक र सम्पूर्ण अभिभावक भेला गराई छलफल गराई विशेष योजना सहित क्रमश सुरु गरिने छ ।
  6. बर्षेनी विदेश पलायन हुने साहूको चर्को व्याज सहितको ऋणमा डुबेर मानसिक तनावमा परेका युवा जमातको क्षमता विकास र आय आर्जनको कामको थालनी गर्न तालिम सहितको युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गरिने छ ।
  7. धौलागिरी गाँउपालिका भित्र विभिन्न गाँउहरु मध्ये जहाँ पर्यटकीय सम्भावना रहेको छ त्यस गाँउलाई पहिचान गरी स्मार्ट भिलेज बनाउन आवश्यक कुराहरु खोज गरी ५ बर्ष भित्र सो काम पुरा गर्न कार्य अगाडी बढाइने छ ।
  8. गुर्जा, लुलाङ, मुना, मुदी, मराङ र मल्कवाङलाई क्रमिक रुपमा घरमा सुत्केरी मुक्त वडा घोषणा गरिने छ ।
  • सम्पुर्ण गाउँपालिका वासीलाई स्वास्थ्य वीमा गर्ने कार्यक्रमलाई तिव्रता दिईनेछ ।
  1. स्वास्थ्य सेवाको पहुँच नपुगेका ठाउँहरुमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिने छ ।
  2. गुर्जा, मुना, मुदी र मल्कवाङमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्रहरुको निर्माण गर्दै लगिने छ

धौलागिरी गाउँपालिकाबाट गाउँसभाका उपाध्यक्ष रेशम छन्त्यालद्धारा  गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को आयब्यय अनुमानित विवरण

समृद्ध धवलागिरी बनाउनको लागि आदरणीय जनसमुदायहरुले निर्वाचनको माध्यमबाट हामीलाई निर्वाचित गरेको पहिलो गाउँसभाको बैठकमा बार्षिक आय व्ययको अनुमान विनियोजन ऐन  वार्षिक विकास कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ । यो अवसरमा सहिदहरुलाई स्मरण गर्दै आदरणीय जनसमुदाय प्रति आभार व्यक्त गर्न चाहन्छु ।

बजेट तर्जुमाका आधारहरु

  • नेपालको संविधान २०७२, को अनुसूची ८ मा उल्लेखित स्थानीय तहको अधिकारको सूची र अनुसूची ९ मा भएको संघ र प्रदेशको अधिकार सुची
  • नेपालको संविधानमा उल्लेखित मौलिक हकहरु
  • नेपाल सरकारबाट स्वीकृत संघ प्रदेश र स्थानीय तहको कार्यविस्तृतीकरण प्रतिवेदन
  • विकासका समसामयिक मुद्दाहरु जस्तै सामाजिक समावेशीकरण , लैंगिक सशक्तिकरण , विपद् व्यवस्थापन , बालमैत्री स्थानीय शासन
  • नेपालको संविधान भाग १९ को आर्थिक कार्यप्रणाली
  • स्थानीय तह सञ्चालन सम्बन्धी कार्यकारी आदेशहरु
  • त्रिवर्षिय योजनाका मार्गदर्शन र सम्बन्धित निकायबाट प्राप्त मार्गदर्शनहरु
  • वडा र बस्ती स्तरमा सङ्कलित नागरिकका मागहरु
  • गाउँकार्यपालिकामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका घोषणापत्रहरु

कुल आन्तरिक राजश्व १० लाख , अन्तर सरकारी वित्तिय हस्तान्तरण बाट प्राप्त जम्मा  २५ करोड ३० लाख २७ हजार र अन्य स्रोतबाट प्राप्त ५३ लाख गरी जम्मा आयको अनुमान रु २५ करोड ९३ लाख २७ हजार अनुमान गरेको छु ।  १० लाखको योजना पार्न जिल्ला देखी केन्द्र सम्म धाउन पर्ने हामीहरु आज लाखौं का योजनाहरु आफैं  विनियोजन गर्ने भएका छौ  । यो नै हामीले पाएको सबैभन्दा ठूलो उपलब्धी हो भन्ने मलाई लागेको छ ।

व्यय तर्फ शशर्त अनुदान तर्फ रु ८ करोड ७८ लाख ६७ हजार विनियोजन गरेको छु भने वित्तिय समानीकरण अनुदान तर्फको रु १६ करोड ५१ लाख ६० हजार,  आन्तरिक आय  १० लाख र अन्य आय तर्फको रु ५३ लाख गरी जम्मा १७ करोड  १४ लाख ६० हजारबाट चालू तर्फ रु ५ करोड ७५ लाख  ७५ हजार २५ रुपैया गरी  जम्मा ३३.५७ प्रतिशत रुपैया विनियोजन गरेको छु । र पूजीगत तर्फ रु ११ करोड ३८ लाख ८४ हजार ९७५ बिनियोजन गरेको छु   जुन करिब ६७.४३ प्रतिशत हुन आउँछ ।

त्यसै गरी खर्च तर्फ सशर्त कार्यक्रमहरु जस्तै शिक्षा स्वास्थ्य कृषी अन्तर्गत रु ८ करोड ७८ लाख ६७ हजार विनियोजन गरेको छु । जसमध्ये प्राथमिक तहका शिक्षकको तलब र प्रशासनिक खर्च मा रु ४ करोड ६२ लाख ७२ हजार  माध्यामिक तहका शिक्षकको तलब तर्फ रु १ करोड ६ लाख ६१ हजार र विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फ रु १ करोड ७ लाख २६ हजार विनियोजन गरेको छू । त्यसै गरी स्वास्थ्य तर्फ १ करोड ८४ लाख ५७ हजार र  कृषी तर्फ ९ लाख ६० हजार विनियोजन गरिएको छ ।

  1. धवलागिरी गाउँपालिकाको विकट भू भौगोलिक बनावटको कारण हालसम्म पनि सडक सञ्जालले नछोएका वडाहरु जोड्न प्राथमिकता दिई मुना – मुदी जोड्ने सडकलाई रु ९० लाख विनियोजन गरको छु । यसका लागि कम्तिमा १० प्रतिशत जनसहभागिता सुनिश्चित गरिने छ । त्यसै गरी मराङ मलम्पार मल्कबाङ जोड्ने सडकलाई पनि रु ९० लाख बिनियोजन गरेको छू । सो आयोजनामा पनि कम्तीमा १० प्रतिशत जनसहभागिता अभिवृद्धी गरिने छ । अत्याधिक  मानबीय श्रम बाट निर्माण गरिने लक्ष्य राखिएका उक्त आयोजनाहरुले रोजगारी सिर्जना गर्ने अपेक्षा राखेको छु ।
  2. शिवरात्री खोलाको पहरा फोड्न रु ३५ लाख विनियोजन गरेको छू । सो आयोजनाले यातायात क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने अपेक्षा राखेको छु । त्यसै गरी कल्लेनी देखी ताकम जोड्ने सडकलाई रु २५ लाख विनियोजन गरेको छु । शिवरात्री खोलामा बेली ब्रिज जोडेर बाह्रै महिना यातायात सुचारु गर्न  रु ३० लाख विनियोजन गरेको छु । अन्य सडक पूर्वाधारमा विनियोजन गरिएको रकमको विस्तृत विवरण अनुसुची ६ मा समावेश गरेको छु ।
  3. हाल सम्म पनि विद्युत जडान गर्न नसकिएको तितो यथार्थलाई वोध गर्दै राष्टिय लाईन जोड्न ताकम क्षेत्रलाई हुने गरी रु ४० लाख विनियोजन गरेको छू । लुलाङमा विद्युत मर्मत गर्न रु २० लाख विनियोजन गरेको छु । त्यसै गरी मुना जलविद्युत मर्मत गर्न रु ६ लाख विनियोजन गरको छु ।
  4. कृषिमा आत्मनिर्भर हुन सिंचाईमा पनि पर्याप्त बजेट विनियोजन गरेको छु । यसका लागि मुनामा दरखोला सिंचाईको लागि रु ६ लाख र खाम्ला सिंचाईको लागी रु १० लाख विनियोजन गरेको छु ।
  5. धवलागिरी गाउँपालिका भित्रका सबै ठाँउहरुमा सञ्चार सुविधा विस्तार गर्न खिबाङ टेलिकम भवनको लागि रु १० लाख विनियोजन गरेको छु ।
  6. रोजगारी सिर्जना र समावेशीकरणको मूल मर्म लाई आत्मसात गर्दै लक्षित कार्यक्रम तर्फ रु ८२ लाख विनियोजन गरेको छु । जसअन्तर्गत युवा लक्षित व्यवसायिक तालिमको लागि  रु ८ लाख ५० हजार ,   तालिम प्राप्त व्यक्तिलाई व्यवसाय सञ्चालन अनुदान तर्फ १० लाख, दलित जनजाती महिला सिपमूलक तालिम तर्फ रु ७ लाख, बालबालिका सम्बन्धी कार्यक्रम लाई रु १० लाख, अपांग परिचयपत्र वितरण कार्यक्रमलाई रु ३ लाख, जनजाती विकास कार्यक्रमलाई रु ६ लाख ५० हजार, जेष्ठ नागरिक सम्मान कार्यक्रममा रु ५ लाख र महिला सशक्तीकरण तथा आयआर्जन तालिम तर्फ १० लाख विनियोजन गरेको छु । त्यसै गरी सुचनाको हक पत्रकारिता तालिमको लागि रु ५ लाख विनियोजन गरेको छु ।
  7. विद्यालयमा दरबन्दी मिलान गर्नु हाम्रो पहिलो प्राथमिकताको विषय थियो । तर नीतिगत अष्पस्टताको कारणले अहिले सो कार्य गर्न असक्षम भएको व्यहोरा अवगत गराउँछु । तर विद्यालयमा भौतिक निर्माण तर्फ यथेष्ट बजेट विनियोजन गरिएको छ । जसको विस्तृत विवरण अनसुची ५ मा राखेको छु ।
  8. कृषिलाई उच्च प्राथमिकता दिदै एक गाउँ एक उत्पादन कार्यक्रममा रु ३५ लाख विनियोजन गरेको छु । प्रत्येक वडामा एक विशिष्ट प्रकारको उत्पादनमा जोड दिई कृषिमा उद्यशिलता सिर्जना गरिने छ । यसबाट जनताको आयस्तरमा सुधार आउने अपेक्षा राखेको छु ।
  9. गाउँपालिका भवन निर्माण गर्न जग्गा खरिद गर्न रु २० लाख र भवन निर्माण गर्न रु ४० लाख विनियोजन गरेको छु । यसको लागि आगामी वर्ष पनि बजेट बिनियोजन गरिने छ ।

माथि उल्लेखित वजेटको कार्यान्वयन बाट हाम्रो यस धौलागिरी गाउँपालिकाले समृद्धी तर्फको पहिलो पाईला चाल्नेछ भन्नेमा म विश्वस्त छु । अव हाम्रो जिम्मेवारी भनेको वजेटको सफल कार्यान्वयन नै हो । यस आयव्यय अनुमानलाई स्वीकृत गरी कार्यान्वयनको लागि अग्रसर हुनको लागि सम्पुर्ण गाउँपालिका सभाका सदस्यहरुमा हार्दिक अनुरोध गर्दछु ।