‘काठमाण्डौमा भेटिईन शान्ति , दर्जी परिवारमा फर्कियो खुसी ’

  • ८ श्रावण २०७४, आईतवार
  • 9688 पटक पढिएको

म्याग्दी, ८ साउन । धाईरिङका सन्ते दर्जी मख्ख परेका छन् । दश दिनदेखि काठमाण्डौमा वेपत्ता भएकी आफ्नी श्रीमती फेला परेपछि सन्तेसंगै उनको घरपरिवारमा खुसी फर्किएको छ । सन्ते दर्जी विरामी भएर पोखरामा उपचार गराईरहेको अबस्थामा उनलाई भेट्न उनकी श्रीमती २३ बर्षिया शान्ति बेनीबाट बसमा सवार भएर पोखरातर्फ लागेकी थिईन् । तर ठाउँ पहिचान गर्न नसक्दा काठमाण्डौमा पुगेको खुलेपनि त्यही दिनदेखि मोवाईल स्विच अफ भएपछि उनी घरपरिवारबाट सम्पर्क विहिन बनेकी थिईन् ।

गत बर्ष मात्रै विवाह बन्धनमा बाँधिएका सन्ते श्रीमती काठमाण्डौमा पुगेर वेपत्ता भएपछि चिन्तीत बनेका थिए । उनले सञ्चार माध्ययम, प्रहरी हुँदै बेनीदेखि काठमाण्डौ गुड्ने गाडीका चालकहरु समेतलाई आफ्नो श्रीमती खोजी गरिदिन अनुरोध गरेका थिए । तर काठमाण्डौमा वेपत्ता भएकी शान्तिलाई अल्पत्र अबस्थाबाट उद्धार गरि प्रहरीले वालवालिका खोजतलास केन्द्रमा राखेको अवस्थामा राखेको भेटिएपछि दर्जी परिवारमा खुसीयाली छाएको हो ।

काठमाण्डौ स्थित प्रहरी बृत जनसेवाले शान्तिलाई साउन २ गते फेला पारी भकृटीमण्डप स्थित बालबालिका खोजतलास तथा समन्वय केन्द्रमा राखेको र उनका घरपरिवारलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वयमा सम्पर्क गरि जिम्मा लगाएको केन्द्रका प्रमुख प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले जानकारी दिए । शान्ति राम्रो बोल्न नसक्ने र घरपरिवारको सम्पर्क नम्बर समेत भन्न नसक्ने भएकाले उनको परिवारसंग सम्पर्क खोज्न ढिलाई भएको थियो ।

केन्द्रका प्रमुख रहेका प्रनाउ खड्का म्याग्दीका पूर्व प्रहरी नायब उपरिक्षकको रुपमा समेत कार्यरत थिए । शनिवार शान्तिलाई खोज्दै उनका श्रीमान काठमाण्डौमा रहेको जानकारी पाएपछि आफुले उनीहरुलाई केन्द्रसम्म ल्याएर हराएकी शान्तिलाई सन्ते र उनकी आमाको जिम्मा लगाउँदै बाटोखर्च बापत रु ३ हजार दिएर पठाएको केन्द्रका प्रनाउ खड्काले जानकारी दिए ।

बजार ठुलो भएको र अन्य व्यक्तिहरुसंग राम्रोसंग बोल्न समेत नसक्ने भएर सम्पर्क विहिन बनेकी आफ्नो श्रीमती खोजी गर्ने कार्यमा सहयोग गर्ने सबैलाई सन्ते दर्जीले धन्यबाद दिएका छन् । बेनीमा भारी बोक्ने, पत्रिका बाँड्ने काम गर्दै जिविकोपार्जन गर्दै आएका दर्जीको श्रीमती काठमाण्डौमा वेपत्ता भएपछि विभिन्न संचार माध्ययम र सामाजिक सञ्जाल फेसबुक बाट समेत उनको खोजीको लागि तस्बिर सहित आह्वान गरिएको थियो ।