राप्रपा जिल्ला सदस्य छन्त्याल काँग्रेसमा प्रवेश

  • ७ श्रावण २०७४, शनिबार
  • 3015 पटक पढिएको

म्याग्दी, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका जिल्ला सदस्य एवँ धौलागिरी गाउँपालिकास्थित मल्कबाङका अगुवा व्यक्तित्व दलमान छन्त्याल काँग्रेस प्रवेश गरेका छन् ।

दलमानको प्रवेशसँगै मल्कबाङमा काँग्रेस अझ सशक्त बनेको छ । काँग्रेसको नेतृत्वमा मात्रै गाउँको विकास संभब रहेको भन्दै छन्त्यालले काँग्रेसको सदस्यता लिएका हुन् ।

उनलाई नेपाली काँग्रेस मल्कबाङका सभापति धनबहादुर छन्त्याल र वडाअध्यक्ष खर्ककुमारी छन्त्यालले संयुक्त रुपमा सदस्यता प्रदान गरेको नेपाली काँग्रेस म्याग्दीका प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा समाजसेवी अमरबहादुर छन्त्याल र तरुण दलका जिल्ला सदस्य भिम छन्त्यालले स्वागत गरेको नेपाली काँग्रेसले जनाएको छ ।

यसैबीच, एक भव्य समारोहका बीच धौलागिरी गाउँपालिका–५का वडाअध्यक्ष खर्ककुमारी छन्त्यालले वडाअध्यक्षको कार्यभार सम्हालेकी छन् । चुनाब अघि मल्कबाङका सर्वसाधारणले गाउँ सञ्चालनका लागि धनबहादुर छन्त्याललाई गाउँ संयोजक चुनेका थिए । निर्वाचन सम्पन्नपछि उनको बिदाईसँगै खर्ककुमारीले पदभार सम्हालेको वडा कार्यालयले जनाएको छ ।